खेलकुद

थाइल्यान्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई


काठमाडौँ – एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको छ ।

एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई विदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलबहादुर थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले विदाई गरे ।

नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा चैत १० गते थाईल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै चैत १३ गते थाई शीर्ष डिभिजनको क्लब चुनबुरीसँग खेल्नेछ । दुवै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ ।

केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । एएफपसी छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन् ।