अर्थनीति

साना व्यवसायीको गुनासो–आयातीत वस्तुको शतप्रतिशत मार्जिनले मारमा पर्‍याैँ 


काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारीहरूले मारमा परेको बताएका छन् । सरोकारवाला निकायहरूसँग छलफलसमेत नगरि आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको उनीहरूले बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले सामान आयातमा शतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरूलाई मानसिक तनाव बढाएको बताउनुभयो । उहाँले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामानसमेत विभिन्न बहानामा तीन महिनादेखि भन्सारमा नै रोकिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शतप्रतिशत मार्जिनमा व्यवस्था गरिएका घातक बुँदाहरू संशोधन गर्नुपर्छ भन्ने व्यवसायी महासङ्घको माग थियो । मार्जिनको व्यवस्था गर्नुभन्दा अगाडि मगाएको सामान कसरी ल्याउने भन्ने कुरा नसोची सरकारले नीति बनाउँदा समस्या भएको अवस्था छ । सरकारले बाटोमा आउन लागेको सामान आउने वातावरण बनाएको भए आज समस्या आउने थिएन । यस्ता समस्याले बजारमा मूल्य वृद्धि भएको छ । साना उद्योगी व्यवसायीको पहुँच सरकारसँग बढाउनु पर्‍यो । हामीले तीन वर्षदेखि चीनले उत्तरी नाकामा अघोषित नाकाबन्दी गरेको भन्दै आएका छौँ । नियमनकारी निकायमा बस्ने कर्मचारीले कोठामा बसेर निर्णय गर्दा बजारका समस्या हल हुँदैन । बजारमा आएर समस्या बुझ्नुपर्छ ।’

त्यस्तै काठमाण्डौको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताउनुभयो । उहाँले सरकारले सामान आयातमा ल्याएको शतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायी थप मारमा परेका बताउनुभयो ।

व्यापारीहरुले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्नसमेत नपाएको बताएका छन् । बैंक कर्जाको ब्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ ।