Breaking

आयोगको निर्णयप्रति ओलीको आपत्ति,गठबन्धनको खटपट मिलाउने काम आयोगको नभएको जिकिर


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न तोकेको दुई दिन समयप्रति केपी शर्मा ओलीले आपत्ति जनाएको छ । नेकपा एमालेका अध्यक्ष ओलीले आयोगले नै पाँच दलीय गठबन्धनको खटपट मिलाउनका दुई दिनको समय दिएको भन्दै आयोगमाथि खनिए ।

आइतबार इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेको बताएका छन् । उनले यसभन्दा अघि उम्मेदवारी मनोनयनका लागि एक दिनको समय दिने तर यस पटक भने किन दुई दिन चाहियो भन्दै आयोगलाई प्रश्न गरेका थिए ।

ओलीले विश्वभर उम्मेदवारी मनोनयनका लागि एक दिनको समय दिने भएता पनि यसपटक भने आयोगले दुई दिनको समय दिएको छ । उनले भने, ‘सधै निर्वाचन आयोगले मनोनयन दर्ता गर्न एक दिनको समय दिन्थ्यो यसपल्ट बैशाख ११ र १२ गते दियो’, ओलीले आयोगप्रति कटाक्ष गरे । उनले भने, ‘दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट गरेर कुरा नमिल्न सक्छ । अनि भोलिपल्ट पनि ।’ उनले विश्वभरी एकै दिन मनोनयन हुने गरेको भन्दै पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको नभएको पनि बताए ।

उनले निर्वाचन आयोगलाई एउटा पार्टीको पक्षमा काम नगर्न चेतावनी पनि दिए । ‘म निर्वाचन आयोगलाई भन्न चाहान्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन निष्पक्ष भएर काम गर्नुपर्छ’, ओलीले भने, ‘अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रुखको रङ सवैलाई दिने रे । रुखको रङको पनि हरियो, सूर्यको पनि हरियो पारेर, कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ?’ काँग्रेसको रुख हरियो पार्न हरियो रङ चाहिएको भन्दै प्रश्न गरे । रङबारे दलहरूसँग निर्वाचन आयोगले परामर्श नगरेकोमा समेत आपत्ति जनाए । अध्यक्ष ओलीले सर्वोच्च अदालतप्रति पनि असन्तुष्टि जनाएका थिए ।

‘सार्वभौम सत्ता अदालतमा होइन, नेपाली जनतामा मात्रै छ । अदालतलाई मान्नु पर्दछ । संविधानको सर्वोच्चता अदालतले पनि मान्नु पर्दछ । अदालतले संविधानको व्याख्या गर्न सक्छ । संशोधन होइन’, ओलीको भनाइ छ ।