राजनीति

मतदान केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य, केन्द्रबाट अवलोकन गर्ने


काठमाडौँ – आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरेको छ । निर्वाचन आयोगले मतदान सम्पन्न भइसकेपछि मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरेको हो ।

सीसीटीभी जडान गरेपछि निर्वाचन आयोगले केन्द्रबाटै त्यसको अनुगमन गर्ने भए पनि जनाएको छ । यसका लागि आयोगको आग्रहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गरेर मतगणनास्थल दृष्य अवलोकन प्रणाली ुभीसीभीएमएसु को प्रयोग गर्न निर्देशन दिएको छ ।

अब पालिकाले आफ्नै स्वामित्वमा रहने गरी निर्वाचन आयोगले तोकेको मापदण्डअनुसारका उपकरण जडान गर्नुपर्नेछ । मतगणना स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन भीसीभीएमएस स्थापना गरेर निर्वाचन आयोगले आफ्नो परिसरबाटै अवलोकन गर्ने भएको हो ।

स्थानीय तहको चुनावको मतगणना केन्द्र सम्बन्धित पालिकाको केन्द्रलाई नै बनाउने यसअघि नै निर्णय भइसकेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तयारी तीव्र बनाएको छ ।