मनोरञ्जन

प्रकाश सपूतले युट्युवबाट हटाए ‘पीर’


काठमाडौँ – विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।

पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो । त्यसैले कुनै दबाब र प्रभावले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ ।’

उनले लेखका छन् : सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा “गलबन्दी”, १५ दिनमा “कुरा बुझ्नपर्छ” र ७ दिनमा “पिर” करोड़ पटक हेरिएको छ। हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ। एउटा सर्जक र उसको टिमका लागी र समग्र व्यावसायिक सङ्गीत बजारका लागी यो अपार सफलता हो। तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु। यधपि तपाइँको अमुल्य शुभेच्छा मेरो लागी असामान्य छ। मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु। रेकर्डहरु बनाएको छु। सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन। कहिले काहिँ त लाग्छ ! भयो अब ! पुग्यो । I’m done ! खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकश्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने रहेछ कि जस्तो महशुस गराएको छ। सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ। भैईरहोस। जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदियो। Unofficial रुपमा त पुरानो भिडियो Save होलान्। अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध ) तर लाखौ सब्सक्राईब भएको Pakash Saput official YouTube मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो। नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो। त्यसैले कुनै दबाब/ प्रभावले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समीक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि-अपलोड गरिएको छ। साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु। केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु… पिर- Re uploaded.