Breaking

यस्तो छ निर्वाचनको तालिका, अब ५५ दिनमा के के होला ? नेताहरुलाई लाग्यो चुनावको रन्को


काठमाडौँ – राजनीतिक सतहमा पेचिलो कुनै ऐजेण्डाहरु देखिएका छैनन् । त्यसोत शिर्ष दल र नेताहरु स्थानीय तहको निर्वाचनको मूडमा पार्टीका कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । आगामी बैशाख ३० गते का लागि तोकिएको निर्वाचनको कार्यतालिका समेत सार्वजनिक भएपछि देश स्थानीय तहको निर्वाचनमा होमिएको आभाष मिलेको छ ।

सरकारले गत माघ २४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको थियो । यसपटक देशभर एकैसाथ हुने गरि निर्वाचनको मिति तोकिएको छ । मिति तोकिदा तोकिएकै समयमा निर्वाचन होला त ? भन्ने आशंका व्याप्त थियो ।

तात्कालिन समयमा दलहरुबीच देखिएको मत भिन्नता, संवैधानिक जटिलता र राजनीतिक उत्तारचढावका कारण मिति तोकिएकै समयमा निर्वाचन हुनेमा आशंकाहरु कायम थिए । तर सबै किसिमका जटिलताहरु हट्दै गए पछि अब तोकिएको समय अर्थात बैशाख ३० मै स्थानीय तहको निर्वाचन हुने निश्चीत देखिएको हो ।

बैशाख ३० मै निर्वाचन गराउन निर्वाचन आयोगले द्रूत गतिमा काम गरिरहेको छ । आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख ११ र १२ गते तोकेको छ ।

स्थानीय तहको निर्वाचन कार्यतालिका
बैशाख ११ र १२ गते : उम्मेद्वारको मनोनयन दर्ता ।।
बैशाख १२ गते : मनोनयन पत्रको सुची प्रकाशन ।।
बैशाख १३ गते : उम्मेद्वारको विरोधमा उजुरी दिने ।।
बैशाख १४ र १५ गते : मनोनयन पत्र जाँच तथा निर्णय गर्ने ।।
बैशाख १५ गते : उम्मेद्वारको नामावली प्रकाशन ।।
बैशाख १६ गते : उम्मेद्वारले नाम फिर्ता लिने ।।
बैशाख १६ गते : उम्मेद्वारको अन्तिम नामावलीप्रकाशन
वैशाख १७ गते : उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान ।।
वैशाख ३० गते : मतदान ।

आयोगको तालिकाअनुसार १२ गते बेलुका मनोनयन–पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने छ । त्यस्तै १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइने छ । यसैगरी, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका तय भएको छ ।

त्यस्तै, १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । र ३० गते मतदानको समय रहेको छ । तोकिएको कार्यतालिका भित्र सबै कार्य सम्पन्न गर्नका लागि आयोग व्यापक तयारीमा लागि परेको छ ।

राजनीतिक दलहरु समेत तोकिएकै समयमा निर्वाचन हुने भए पछि पार्टीका कार्यक्रमहरुमा बढि सक्रिय हुन थालेका छन् । शिर्ष नेताहरु पार्टी प्रवेश, प्रशिक्षण तथा भेलाहरुमा देश दौडाहमा छन् ।

शिर्ष राजनीतिक दलहरु मात्रै होइन, साना तथा क्षत्रिय दलहरु पनि निर्वाचनको तयारीमा स्थानीय तहहरुमा क्रियालि बनेका छन् । यस अघि निर्वाचन प्रक्रिया नै बहिस्कार गरेर बसेका दलहरु पनि निर्वाचनमा विधिमा समाहित हुने देखिएको छ ।