Breaking

ओलीलाई इंङ्गीत गर्दै प्रचण्डले भने–जसलाई नायक बनाउन कोसिस गरियो, उनी नै खलनायक भयो

आफूलाई पुन: नायक बन्ने भुमिका खेलिदिएकोमा ओलीलाई धन्यवाद


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा गोरु गाढाको सिद्धान्त अझै कायम रहेकाले प्रतिक्रान्तिको खतरा अझै कायम नै रहेको बताएका छन् । पार्टीको सिन्धुलीमा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी शक्तिहरू अझै पनि संविधान उल्टाउने खेलमा रहेको बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ इङ्गित गर्दै उनले भने, ‘गणतन्त्र आउनु र गोरु गाढा चढेर अमेरिका जानु उस्तै हो भन्ने मान्छेहरू अहिले पनि जिउँदै छन् । तिनीहरू गोरु गाढाकै सिद्धान्तमा कायम छन् । उनीहरू देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको सामु सुम्पिन चाहेका छन् ।’

पोहोर साल विघटन र विसर्जनवादका झटारोहरू देखेको स्मरण गर्दै उनले आफूहरू पुरै शक्तिका साथ सडकमा नउत्रेको भए पोहोर साल दुर्घटना भइसक्ने जिकिर गरे । ‘हामीले देशलाई प्रतिगमनमा लैजाने दुस्साहसलाई सफल हुन दिएनौँ,’ उनले भने ।

प्रचण्डले अहिले पनि बिना कुनै कारण अझै सदन चल्न नदिने काम भइरहेको प्रति असन्तुष्टि व्यक्त गरे । प्रतिनिधिसभालाई विघटन गर्न चाहने प्रवृत्ति कायम रहेको बताउँदै उनले गठबन्धनले अझै रिल्याक्स गर्ने अवस्था भइनसकेको उल्लेख गरे ।

‘पहिलो पटक प्रतिनिधिसभा विघटन गरेको उल्टाएपछि अब त जितियो भनेको दोस्रो पटक फेरि विघटन भयो,’ उनले भने, ‘त्यसैले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादी र काँग्रेस लगायत दलहरू मिलेर अघि नबढ्ने हो भने देशमा दुर्घटना गर्ने खतरा कायम छ । अझै रिल्याक्स गर्ने बेला भएको छैन ।’

देशलाई समाजवादतर्फ अघि बढाउन केपी ओलीलाई प्रधानमन्त्री स्वीकार गरेको बताउँदै प्रचण्डले भने, ‘जसलाई नायक बनाउन कोसिस गरियो, उनी नै खलनायक भए ।’ त्यसपछि आफू अघि सरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नुहोस्, सङ्ख्या पुर्‍याउँछु भनेपछि अन्ततः गठबन्धनको सरकार बनेको जिकिर गरे ।

उनले माओवादीलाई जनतासँग जोड्ने अवसर प्रदान गरेकोमा एमाले अध्यक्ष ओलीलाई पनि धन्यवाद दिए । ‘ज्ञानेन्द्र शाहले भिलेनको भूमिका खेलेको कारण हामीलाई हिरोको भूमिका खेल्न सजिलो भएको हो । त्यस्तै, केपीले प्रतिगामी कदम नचालेको भए लोकतन्त्रको रक्षा गर्न जनतासँग जोडिने अवसर पाउँदैन थियौँ । त्यसैले मूर्खता गरेकोमा केपीलाई धन्यवाद दिन्छु,’ उनले भने ।