Breaking

एमालेलाई शून्य सिटमा झारेर सजाय दिनुपर्छ: झलनाथ खनाल


काठमाडौँ – एकीकृत समाजवादी नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद् विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताउनु भएको हो । यस पटकको निर्वाचनमा ओली नेतृत्व एमालेलाई शून्य सिटमा झारेर सजाय दिनु पर्ने खनालको अभिव्यक्ति थियो ।

पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानको प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो ।

ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उहाँले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताउनु भयो ।

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।