समाचार

भक्तपुरमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु


काठमाडौँ — भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब साढे ९ बजे काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर उदयपुरको गाइघाट घर भई ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो ।

बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट एक्कासी सडकमा खसेका कार्की घाइते भएको र समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

ट्याक्टरका चालक झापाको कन्काई नगरपालिका-५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।