समाचार

टुल्कु ग्युर्मेत दोर्जी ग्याल्पो रिन्पोछेको गद्दी आरोहण


काठमाडौँ — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका – २ मा अवस्थित जरोङ्ग थुप्तेन दोङग छ्योलिङ गुम्बाका आवातारी अर्थात् टुल्कु ग्युर्मेत दोर्जी ग्याल्पो रिन्पोछेको ठीदेन तथा गद्दी आरोहण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच दिवंगत महान धर्मगुरु दोर्र्जी लोपेन ङवाङ लुङ्दोका आवातारी (टुल्कु) ग्युर्मेत दोर्र्जी ग्याल्पो रिन्पोछेलाई गुम्बामा ठीदेन अर्थात् गद्दी आरोहण गरिएको हो ।

बौद्ध पात्रो अनुसार शुक्रबार शुभ र महत्वपुर्ण तिथि परेको हुँदा सोही गुम्बा ब्यबस्थापन समितिका प्रमुख गेलोङ् (विक्षु) ङवाङ ल्हुन्डुपा लामाले तत्काल ठीदेन तथा गद्दी आरोहण गरिएको बताउनुभयो । गुम्बाका प्रमुख धर्मगुरु क्यप्जे ठुल्सिक रिन्पोछेका अवातारी यङ्सी रिन्पोछेज्युको प्रमुख उपस्थितिमा उहाँलाई गद्दी आरोहण गरिएको हो ।

अवातारी अर्थात टुल्कु ग्युर्मेत दोर्जी ग्याल्पो रिन्पोछे आवातारी हो भनी आज भन्दा करिव २० वर्षअगाडि गुम्बाका प्रमुख धर्मगुरु क्यप्जे ठुल्सिक रिन्पोछेको बहुलीबाट खोटाङ जिल्लामा अबस्थित हलेसी गुम्बामा पहिचान तथा प्रमाणित भएको थियो ।

आवातारी टुल्कु ग्युर्मेत दोर्जी ग्याल्पो रिन्पोछेको जन्म २०४६ साल जेठ ३०गतेका दिन सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड—३ लोदिङ गाउँमा बुबा ल्हक्पा गेल्बु शेर्पा र आमा थम्जी डोमा लामा शेर्पाको कोखमा भएको थियो ।

उहाँको जन्म लोदिङ गाँउमा भएपनि बौद्द शिक्षादिक्षा भने सोलुखुम्बु जुन्बेशीमा हजुर बुवा तथा हजुर आमा तेन्जीङ जाङबु लामा र आङ ल्हमु लामाले दिनुभएको थियो ।

उहाँले भारतको देहरादुन स्थित मेन्ड्रोलिन गुम्बामा बौद्द शिक्षाबाट आचार्य सम्मको अध्ययन गरेर सोही गुम्बामा प्रिन्सिपलको रुपमा अध्यापन गराउँदै आइरहनुभएको छ ।