Breaking

भारतमा केजरीवालले खुट्टो घुमाँउदा कहाँ छन नेपाली वैकल्पिक शक्ति ? के राप्रपा बन्ला विकल्प ? (भिडियो सहित)


काठमाडौँ — भारतीय राजनीतिमा केजरीवालको पार्टी आम आदमी पार्टीको बढ्दो लोकप्रियताले नेपाल पनि वैकल्पिक राजनीतिक शक्तीको वहसलाई उजागर गरेको छ । तर यहि उदाहरणकाबीच नेपालमा भने वैकल्पिक राजनीतिक शक्ति भनिएका दलहरु आफ्नो अस्तित्व जोगाउनै संघर्षरत देखिएका छन । अर्थात राष्ट्रिय दलसम्म बन्न नसकेका उनीहरु ६ दलिय सिन्डिकेटकै शिकार बनिरहेका छन ।

यतिवेला भारतीय राजनीतीमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले मारेको छलाङले सर्वत्र चर्चा पाएको छ । स्थापनाको एक दशकमै उल्लेख्य सफलता हासिल गरेको यो दलले दिल्ली विधानसभा निर्वाचनमा लगातार विशाल जित हासिल गर्दै दोस्रो पटक सरकारको नेतृत्व गरिरहेको छ भने हालै पञ्जाब विधानसभा निर्वाचनमा पनि पूर्ण बहुमतको सरकार गठन गरेको छ । यसरी भाजपा र कांग्रेसको विकल्पमा आफूलाई खडा गरेको उसको सफलतालाई वैकल्पिक शक्ती उद्यको उदाहरणका रुपमा प्रस्तुत गरिएको छ ।

तर नेपालमा भने आफूलाई वैकल्पिक शक्ती मान्नेहरु राष्ट्रिय पार्टी बन्न त पर जाओस आफ्नो अस्तित्व जोगाउने संकटमै गुज्रिरहेका छन । अर्थात राष्ट्रिय दलमा दरिएका ६ दलको सिन्डिकेटमै राजनीति चलिरहँदा वैकल्पिक भनिएकाहरु आफै सकिदै गएका छन । २०७४ सालको स्थानीय तहको पूर्वसन्ध्यामा तत्कालीन विवेकशील नेपाली दलले ‘वैकल्पिक राजनीतिक शक्ति’ का रुपमा आफूलाई उभ्याएको थियो । जनताले उसलाई पूर्ण विश्वास त गरेनन् तर सकारात्मक संकेत भने दिएका थिए । यहि भीडमा रविन्द्र मिश्रले साझा पार्टी स्थापना गरे । मिश्रले वैकल्पिक शक्ती दाबी गरेकोे साझा पार्टी अहिले विवेकशील साझा बन्दासम्म टुटफुटको श्रृखला नै भोगीसकेको छ ।

आन्तरिक विवादले यो पार्टी अस्थित्व रक्षाको चरणमा पुगेको छ । अर्थात कांग्रेस र कम्युनिष्टले राजनीतिलाई कमाई खाने भाडो बनाएको र अव नयाँ शिराको राजनीति आवश्यक रहेको भन्नेहरु नै तीनै ठुलो दलको बाटोमै अघि बढेका छन । यहि अवस्था वैकल्पिक शक्तिका रुपमा आफूलाई दाबी गर्ने राप्रपा, जनमत पार्टी लगायतका दलको पनि छ । राजनीतिक क्रान्ति पूरा भैसकेकाले अब आर्थिक क्रान्तितर्फ लाग्नुपर्ने तर्क सहित अघि बढेका डा.बाबुराम भट्टराईको पार्टी जसपा पनि मुलधारकै सिदान्तभन्दा फरक हुन सकेको छैन । तर टुटफुट र पुरातन पार्टीकै लय समातेका कारण जनताको विश्वासमा पर्न नसकेका उनीहरु स्थापनाको छोटो समयमै बढि अपेक्षा गरिएको ले पूरा हुन नसकेको भन्दै लाज छोपिरहेका छन ।

आफूलाई बैकल्पिक दाबी गरेका यी सबैले न नयाँ कार्यक्रम ल्याउन सके, न जनताले बुझ्ने भाषामा समृद्धिको ठोस मार्गचित्र कोर्न सके, न त जनताको मन नै जित्न सके । यहि कारण सामाजिक समस्या प्रतिको बढ्दो बेवास्ता तथा सत्ता मोहका कारण ठूला राजनीतिक दलप्रति जनतामा चरम नैराश्यता हुँदा समेत वैकल्पिक शक्ती भनिएकाहरु स्थापीत हुन सकेका छैनन । जसतर्फ ध्यान दिनभन्दा केवल कांग्रस र कम्युनिष्टले यतिका वर्ष केहि गर्न नसकेको आरोप लगाउन र वैकल्पिक शक्ती दावी गर्नमै उनीहरु व्यस्त देखिएका छन । भारतमा आम आदमी पार्टीको उद्य हेर्ने हो भने जनतासँग सरोकार भएका विषयलाई प्राथमिकताका साथ उठाउने र तिनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे जनतासामु राखेका विचार नै मुख्य कारण देखिएको छ ।

जनताको दैनिक जीवनमा आउने समस्या सम्बोधन, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गरेर पनि जनताको विश्वास जित्न सकिन्छ भन्ने विश्वासमा रहेको आम आदमी पार्टीको प्रष्टतालाई त्यहाका जनताले विश्वास गरेका छन । तर नेपालमा वैकल्पिक भनिएका राजनीतिक दलहरुमा भने त्यस्तो चरित्र देखाएका त छैनन् नै उनीहरुका गतिविधि पुरातन पार्टीको भन्दा केहि फरक पनि देखिएका छैन । फलत अहिले पनि काँग्रेसको विकल्पमा कम्युनिस्ट र कम्युनिस्टको विकल्पमा काँग्रेसलाई जनताले लिने गरेका छन । यहि कारण राष्ट्रिय दल भनिएका ६ पार्टीकै सिन्डीकेटमा देश चलिरहेको तितो यर्थाथमा वैकल्पिक शक्ती पिल्सिएको छ ।