नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्याएको टिप्पणी गरेका छन् । तर, आफूहरूले बुई चढाएर सडकबाट सत्तामा पुर्याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश पोखे। उनले माओवादी केन्द्र र सत्ता गठबन्धनमा आवद्ध अरू दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी दिए । पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न सचेत गराए । पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्याएका हौं ।
आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन् । हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्याउने ताकत हामीसँग छ । यो कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’ उनले चुनावी गठबन्धनविरूद्ध रहेका कांग्रेस नेतालाई चार वर्षअघि फर्किएर २०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाए । आफ्नो बास्तविक शक्ति सम्झिएर के बोल्ने के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।


प्रतिक्रिया