Breaking

‘निर्वाचन आयोगले कानुन उल्लंघन गर्‍यो’


काठमाडौँ — नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने शर्त व्यवहारिक नभएको भन्दै उनी असन्तुष्टि जनाएका हुन् ।

रिमालले सामाजिक सञ्जालमार्फत पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै प्रश्नसमेत गरेका छन् । उनले लेखेका छन्, प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन । स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ? निर्वाचनमा जादा पदको दुरुपयोग नहोस्, सोच्नु पर्ला । तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ? ’

निर्वाचन आयोगले कानुनको उल्लंघन गरेको पनि रिमालको आरोप छ । ‘निर्वाचन आयोग-कुनैपनि सेवा अवरुद्ध नहोस भनेर अवधी सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन बिपरित पद खाली गर्ने प्रावधान आचारसंहितामा किन राख्ने ?’