समाचार

अफगानिस्तानमा राष्ट्रसंघको मिसन थप १ वर्ष रहने प्रस्ताव पास


काठमाडौँ — संयुक्त राष्ट्रसंघको मिसन अफगानिस्तानमा थप एक वर्ष रहने भएको छ । शुक्रवार राति भएको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले अफगानिस्तानमा राष्ट्रसंघको मिशन थप एक वर्ष रहने प्रस्ताव पारित गरेको हो ।

संयुक्त राष्ट्रसंघको प्रस्तावमा तालिबान शब्द उल्लेख गरिएको छैन । अफगानिस्तानमा तालिबान सरकारलाई अहिलेसम्म विश्वको कुनै पनि देशले मान्यता दिएका छैनन् । सुरक्षा परिषदमा भएको मतदानमा प्रस्तावको पक्षमा १४ देशले भोट दिएका थिए । सुरक्षा परिषदका १५ सदस्य राष्ट्रमध्ये रूस भने बैठकमा अनुपस्थित थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो प्रस्तावले मानव अधिकारको क्षेत्रमा सहयोग पुग्ने विश्वास लिइएको छ । यसमा पत्रकार, महिला तथा बालबालिकाका अधिकार सुरक्षित गर्ने उद्देश्य पनि रहेको बताइएको छ ।

नर्वेले तयार पारेको यो प्रस्तावले अफगानिस्तानमा देखिएको मानवीय तथा आर्थिक संकट समाधानका लागि सहयोगीसिद्ध हुने विश्वास लिइएको छ । संयुक्त राष्ट्रसंघका लागि नर्वेकी राजदूत मोना जुलले अफगानिस्तानमा शान्ति र स्थिरताका लागि यो प्रस्ताव तयार पारिएको उल्लेख गरेकी हुन् ।