Breaking

पल शाहविरुद्ध बलात्कारको मुद्दा दर्ता, यस्तो छ बयान


काठमाडौँ — अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगसहित बिहीबार मुद्दा दायर गरेको हो ।

शाहविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला सरकारी वकिलको कार्यालयले १६ पृष्ठ लामो अभियोग पत्र तयार पारेको छ । पीडित १५ वर्षीया बालिकाको बुबाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।

त्यसका आधारमा मुद्दा दर्ता गर्दा घटना भएको भनिएको होटलको इन्ट्री किताबको प्रतिलिपि, होटल सञ्चालिका सुलोचना कुँवर लगायतको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, शाहको अडियो रेकर्ड लगायतलाई आधार मानेर जबरजस्ती करणी गरेको दाबी गरिएको छ ।

यस्तो छ पल शाहको बयान

म विगत १० वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरि मोडल तथा नायकको भूमिकामा काम गर्दै आइरहेको छु । यसै क्रममा २०७७ साल चैत महिनाको पहिलो हप्ता काजिश श्रेष्ठ, शान थापा, शिव बिकले निर्देशन गरेको सुर्ती माड्दै माड्दै, चरीले, तामा पित्तल, छड्के सलाम भन्ने गीतको म्युजिक भिडियो सुटिङको लागि सम्झौता भएकोले मिति २०७७/१२/४ गते काठमाडौँबाट नवलपरासीको कावासोतीस्थित आई लोकेशन हेरि बसेको हो ।

अर्को दिन ऐ.५ गते “चरीले भन्ने गीतको म्युजिक भिडियोको सुटिङ गरिसके पश्चात पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) सुर्ती माड्दा माड्दै गीतको म्युजिक भिडियो सुटिङको लागि आई थारु कल्चर भन्ने ठाँउमा अरु केटी मोडलसँग बास बसेकी थिइन् । अर्को दिन ऐ.६ गते सुर्ती माड्दै गाड्दै गीतको गायिका तथा नायिका पीडितसँग मैले सुटिङ गर्दै जाँदा नभ्याइएकोले सुटिङ युनिट सबैजना चितवन जिल्लाको सौराहा भन्ने ठाँउमा गएर बसेको हो ।

ऐ.७ गते बिहान सौराहामा ‘तामा पित्तलु भन्ने गीतको म्युजिक भिडियो सुटिङ गरी बेलुका खाना खाई राती अं.१२ : १५ बजे सुटिङको टिममध्ये क्यामरा म्यान निर्देशक,म र पीडित गैडाकोट रिसोर्टमा आइसकेपछि म समेतले रक्सी सेवन गरेको हो । उक्त समयमा पीडित कोठामा सुतेकी थिइन्। पछि सुटिङ युनिट आइपुगेपछि हामी आ-आफ्नो कोठामा सुत्न गएका हौं ।

अर्को दिन ऐ.८ गते छड्के सलाम गीतको सुटिङको लागि सुटिङस्थल जाने क्रममा होटलका साहुले पीडित राति मेरो छोरीसँग सुतेको भनी बताएका थिए । त्यसपछि हामी नारायणी पुलमा गई सुटिङ गरेका हौं । सोही दिन अन्दाजी रातको १०:३० बजेको समयमा सुटिङ युनिटसहित गैडाकोट रिसोर्टमा आई बसेको हो। म उक्त रिसोर्टको कोठा नं.१०१ मा बसेको थिए भने पीडित कोठा नं.१०२ मा बसेकी थिइन्।

म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको अं.११:३० बजे पीडितको कोठामा जाँदा हिजो निजलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकोले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नी, ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो।

अर्को दिन ९ गते विहान उक्त रिसोर्टमा सुर्ती माड्दा माड्दै गीतको केही अंश सुटिङ गरि नारायणी पुल नदी किनारामा छड्के सलाम गीतको भिडियो अञ्जली अधिकारी, सुधीर श्रेष्ठ र म समेतका कलाकारले सुटिङ सकेर काठमाडौं फर्किएको हो ।

काठमाडौं फर्किएपछि म र पीडितले भिडियो प्रमोसनको लागि अन्तर्वार्ता दिने गरेका थियौं । हामीबीच राम्रै म्यासेज आदानप्रदान भइरहेको थियो । २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुमा सुटिङ सकेपछि त्यसको करिब एकरदुई महिनापछि पीडितले मलाई फोन गरि ‘तपाईँको र मेरोबारेमा बाहिर स्टुडियोहरूमा कुरा काटिरहेका छन् भनेकी थिइन् । त्यसपछि हामीबीचमा विवाद सिर्जना हुँदै जाँदा गजब टिभीका सञ्चालक सरोज वली, दुर्गेश भन्ने दुर्गाबहादुर थापा, योगेश काजीसँग यो विवादको विषयमा सल्लाह लिएको हो ।

सोही विवादको विषयमा २०७८ साल असार महिनामा मध्य बानेश्वरस्थित होटलमा निजहरु तथा म र पीडित समेत बसी छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनि जोड गरेको हुँदा तीन बर्षसम्म हामीसँगै मिली काम गर्ने र पीडित २० वर्ष पुगेपछि विवाह गर्ने भनी हामीबीच मौखिक सहमति भएका हुन्।

पुनः पीडितले “मलाई तपाईँको गर्ल फ्रेन्ड्स वा श्रीमतीको रुपमा चिनाउनु पर्यो” भनी बारम्बार म्यासेज गर्न थालेपछि मैले तिमी आफ्नो तरिकाले गर भनी वादविवाद भएको केही समयपछि निज पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा म उपर उजुरी परेको हुँदा म मिति २०७८/११/१५ गते प्रहरी कार्यालयमा उपस्थित भएकोमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत म विरुद्ध उजुरी परेकोले मलाई मिति २०७८/११/२३ गते उक्त कार्यालयमा ल्याइएको हो ।

मिति २०७७ चैत्र ७ गते राति रिसोर्टमा मैले मादक पदार्थ सेवन गरेको हो । मैले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुठा हो। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन। म र पीडित बीच प्रेम। पीडित तथा जाहेरवालाले म उपर किन जाहेरी दिए मलाई थाहा भएन।

म र पीडित बीच प्रेम सम्बन्ध थिएन। बाहिर आएको अडियो क्लिप मिति २०७८ साल असार महिनामा हामीबीच भएको छलफलको अडियो क्लिप हो। उक्त अडियोमा भएको आवाज मेरो हो। सोमा भएको कुनै आवाज मेरो नभएको जस्तो लाग्छ। उक्त अडियो क्लिपमा भएको शब्द मैले प्रतिवाद गर्दा उच्चारण भएको हो। मलाई पीडितले स्वीकार गर्नुपर्छ भनेको हुँदा मैले केही ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरु प्रेमी-प्रेमिकाको उदाहरणसहित स्पष्ट पारेको हो । निजलाई मैले जबरजस्ती करणी गरेको होइन ।