Breaking

तुलनात्मक रुपमा होली शान्ति र सौहार्दपूर्ण बन्दै


काठमाडौँ – हामीले मनाउने हरेक चाडपर्वको धार्मिक तथा साँस्कृतिक महत्व छ । रंगहरुको पर्व होलीलाई सद्भाव, भातृत्व र साहसको प्रतिक मानिन्छ । तर पछिल्लो समय हाम्रा पर्वहरुमा समेत आधुनिकताको वाछिटा पर्दा विकृति उन्मूख छ । होली पर्व पनि यो विकृतिबाट अछुतो छैन । यद्यपि विगतमा भड्किलो बन्ने गरेको होली यो वर्ष केहि संयमित देखिएको छ ।

विगतमा होलिका दिन आपसी सद्भाव, आत्मीयता प्रकट गर्ने भन्दा पनि होलि अगावै फोहोर पानी छ्याप्ने, लोला हान्ने, कालो मोविल दल्ने जस्ता गतिविधि तिव्र थियो । होलि खेल्ने नखेल्ने सबैलाई जवरजस्ती रंग दल्ने पानी छ्यापेर दुख दिने गर्दथे । पानीको लोलामा ढलको पानी हालेर अरुलाई छ्याप्ने प्रवृति, जवरजस्ती रंग दल्ने क्रियाकलापका कारण झडप समेत हुन गरेको प्रहरीको तथ्याङ्कमा छ । होलि विकृति उन्मूख भएको भन्दै धेरैले चिन्ता प्रकट नगरेको पनि होइन ।

नेपालमा होलीलाई नकरात्मक तवरबाट मनाइँदै आएकोको प्रति धेरैको गुनासो समेत छ । होली प्राकृतिक रङहरुबाट खेल्ने पर्व भएको र घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरु बनाएर खेल्नुपर्नेमा कतिपय संस्कृतिविद्को जोड छ । होलीको महत्व आजका नयाँ पुस्तालाई बुझाउन पाठ्यक्रममा नै समावेश गर्नुपर्ने कतिपयको तर्क छ ।

सायद यहि चिन्ता साथै होलिलाई सभ्य बनाउन प्रशासनको कडाईका कारण पनि विगतको तुलनामा यसपालिको होली केहि शान्त र सौहार्द बनेको छ । तर विकृति पूर्ण नियन्त्रण भने भएको छैन । विगत भन्दा पछिल्लो समय होलि मनाउनदा पाइने विकृति कम हुँदै गएको सर्वसाधरणको अनुभव छ ।

तर पछिल्लो समय पर्वहरु मनाउने क्रममा यसको मौलिकता र विशेषता भन्दा पनि तडकभडक केन्द्रित बन्दा सामाजिक विकृतिसमेत भित्रने गरेको छ ।