Breaking

उम्मेद्वार छनोटमा केन्द्रबाटै एमालेको कब्जा, आफ्नो र पैसावालको दाबी


काठमाडौँ – स्थानीय तहको निर्वाचन आउन अब मात्र५७ दिन बाँकी छ । राजनीतिक दलहरुले एकाएक चुनावी सरगर्मी बढाएका छन् । तर उम्मेद्वार छनोटको विधिका विषयमा प्रमुख प्रतिपक्ष नेकपा एमालेबाहेक अरु स्पष्ट भएका छैनन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमार्फतप्रमुख प्रतिपक्षदल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनोटको विधि तयार पा¥यो । जसअनुसार अब महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार केन्द्रबाटै तय हुनेछन् ।

महानगरका वडाध्यक्ष र सदस्यका उम्मेद्वार छनोटको अधिकार भने प्रदेश कमिटीमा निहित गरिएको छ । नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारको छनोटको अधिकारसमेत प्रदेशलाई दिएको एमालेले नगर र गाउँपालिकाका वडाअध्यक्ष र सदस्य छनोटको अधिकार भने जिल्ला कमिटीलाई दिएको छ ।

नेकपा एमालेको जस्तै तयारी नेपाली नेपाली काँग्रेसभित्रसमेत चलिरहेको छ ।तर चुनावी अभियानसहित घरदैलो केन्द्रीत बनेको काँग्रेसमा उम्मेद्वार छनोटको विधि सार्वजनिक गरिएको छैन् । विधातः महानगरबाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने व्यवस्था छ ।

यसैकारण केन्द्रबाटै निर्णय गर्न नहुने कतिपय नेताहरुको भनाइ छ ।गत निर्वाचनमा उम्मेद्वार छनोटकै विषयमा विवाद भएपछि काँग्रेसले भागबण्डामार्फत उम्मेद्वारी टुंग्याएको थियो । अहिलेको निर्वाचनमा के गर्छ अझै अन्योलमा छ ।

निर्वाचन आउन अब मात्रै दुई महिनाको समय बाँकी रहेका बेला राजनीतिक दलहरु चुनाव केन्द्रीत त बनेका छन् । तर कस्ता व्यक्तिलाई उम्मेद्वार बनाउने एकीन गरेका छैनन् ।

एमाले र काँग्रेसबाहेक माओवादी र नेकपा एकीकृत समाजवादी जस्ता प्रमुख दलहरुको अवस्थासमेत उस्तै रहेको छ । अझ सत्ता गठबन्धनबीच नै चुनावी तालमेलको विषय अल्झिएपछि उम्मेद्वार छनोटमा दलहरु अलमलमा छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न प्रथमतः नेतृत्वको आफ्नो मान्छे चाहियो, त्यसमा पनि जित्नसक्ने र पैसा पनि खर्च गर्नसक्ने मान्छे चाहियो । र जितेपछि आफुलाई सहयोग गर्ने मान्छे भएपछि मात्रै नेतृत्वले टिकट दिने विगतको अभ्यास छ ।यसैकारण पार्टीको शिर्ष नेतृत्वलाई रिझाएर, फकाएर, पाउँ मलेर वा पैसा देखाएर केन्द्रबाटै चुनावी टिकट लिएर स्थानीय तहको निर्वाचन लड्न नेताहरुले रस्साकस्सी चलाइरहेका छन् ।