काठमाडौँ — रुसको अन्तरिक्ष एजेन्सी रोस्कस्मसका प्रमुख दिमित्री रोगोजिनले अब रुसमा निर्माण भएको रकेट इन्जिन अमेरिकालाई बिक्री नगर्ने बताएका छन् । रोगोजिनले राज्यबाट संचालित टेलिभिजनमार्फत अमेरिकालाई रकेट इन्जिन नदिने बताएका हुन् । यो घोषणासँगै अमेरिका र रुसी रकेट निर्माताबीचको दसकौँ लामो सम्बन्धको अन्त्य हुनेछ ।
‘आज हामीले एनपीओ इनरगोमासले उत्पादन गरेको रकेट इन्जिनको अमेरिका आपूर्ति रोक्ने निर्णय गरेका छाँै,’ रोगोजिनले बताएको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ । ‘म तपाईंलाई सम्झाउन चाहन्छु, यी आपूर्ति १९९० को दसकको मध्यदेखि धेरै गहन थिए,’ रोगोजिनले बताए ।
यो प्रतिबन्ध आरडी–१८० इन्जिनमा लागू हुनेछ । यो अमेरिकास्थित युनाइटेड लन्च एलाईन्सको एटलास भी रकेटका लागि प्रयोग हुने गर्दथ्यो । यूएलएका सीईओ टोरी ब्रुनोले ट्वीटरमा यूएलएले पहिलेनै आरडी–१८० को आपूर्ति लिइसकेकाले कुनै असर नपार्ने बताएका छन् ।
यूएलए एक निजी अन्तरिक्ष ढुवानी कम्पनी हो । जेफ बेजोसको अमेरिकी रकेट कम्पनी ब्लू ओरिजिनले बनाएका इन्जिनहरु प्रयोग गर्ने भाल्कन नामक रकेटहरुको नयाँ लाइनको पक्षमा एटलस रकेटहरुको आफ्नो लाइन छोड्ने प्रक्रियामा छन् । यो रकेट कहिले उड्नका लागि तयार हुने छ भन्ने विषय अझै स्पष्ट भएको छैन ।
यो प्रतिबन्ध आरडी–१८१ इन्जिनमा पनि लागु हुने छ । यी इन्जिनहरु नर्थरोप ग्रुमम्यानको अन्टारेस रकेटमा प्रयोग हुने रुसको राज्य स्वामित्वको मिडियाले जनाएको छ । आजको मितीसम्म थप १२ आरडी–१८१ इन्जिनहरु २०२२ –२०२४ सम्म आपूर्ति गरिने योजना रहेको थियो ।


प्रतिक्रिया