देश

गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाउनुस्: प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउन निर्देशन दिएका छन् । माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताएका छन् । गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस् ।

गठबन्धन हुन्छ, उनीहरूले हामीलाई छोड्छन्, हामीले चुनाव जित्छौं र हामी फेरि भोलि पनि राम्रै पोजिसनबाट हुन्छौं भन्ने दिमागबाट हटाइदिनू उनले भने हामी आफैं नमरी स्वर्ग देखिँदैन । आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा हामीले चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ । हामीले सबैले यो लडाइँ जित्न सबै तागत लगाउनुपर्छ भन्ने अर्थमा बुझ्न जरूरी छ ।

प्रचण्डले दुइटा बुर्जुवा पार्टी पालैपालो शासन गर्ने र अरूलाई सिध्याउने षडयन्त्र भएको समेत आरोप लगाए । आउने सबै निर्वाचन पार्टीको लागि जीवन मरणको लडाइँ भएको समेत उनले बताए । दुइटा बुर्जुवा पार्टी पालैपालो शासन गर्ने, अरू क्रान्तिकारी पार्टी जनपक्षीय पार्टी उत्पीडित हक अधिकार र पहिचानको कुरा गर्ने पार्टीलाई सिध्याउने षडयन्त्र छ, । उनले भने,आउने निर्वाचन चाहे त्यो स्थानीय तहको होस् चाहे, त्यो संघ र प्रदेशको होस्, हाम्रो लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन ।