Breaking

अन्तत: तीनमहिनापछि भारतले पठायो डा.शर्माको नाममा ‘एग्रिमो’


काठमाडौँ – अन्तत: भारतले प्रस्‍तावित नेपाली राजदूत डा.शंकर शर्माको एग्रिमो पठाएको छ । नेपालले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि भारतले शंकर शर्माको नाममा सहमति (एग्रिमो) पठाएको छ हो ।

परराष्ट्रका अनुसार भारतले मंगलबारको मितिमा शर्माको नाममा एग्रिमो पठाएको हो । सरकारले कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘एग्रिमो’ का लागि पत्राचार गरेको थियो ।

सामान्यतयास् आग्रह गरेको ४ देखि ६ हप्ताभित्र एग्रिमो पठाइसक्ने चलन छ । तर भारतले नेपालका कूटनीतिहरूसँगको कुराकानीमा विधानसभा चुनाव र विदेशमन्त्रीको व्यस्ततालगायत कारण देखाउँदै शर्माका लागि अग्रिमो पठाएको थिएन ।

शर्मासँगै एकै मितिमा अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा पत्राचार गरेको थियो । बेलायत र अमेरिकाले भने तीन महिना नबित्दै एग्रिमो पठाइसकेका थिए । डा.शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत थिए । अर्थशास्त्री शर्माले राष्ट्रिय योजना आयोग उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा यसअघि नियुक्त भइसक्दा भारतले भने ढिलोगरी एग्रिमो पठाएको हो । ुएग्रिमोु नपठाउँदा शर्माको नियुक्ति लम्बिएको थियो । अब शर्माको नियुक्तिका लागि बाटो खुलेको छ । सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् । उनी अर्थशास्त्रीका रूपमा चिनिन्छन् ।
अघिल्ला राजदूत नीलाम्बर आचार्यको नाम संसदीय समितिले २०७५ मंसिर २३ मा अनुमोदन गरेको थियो । त्यसको दुई महिनाभित्रै माघ २० मा उनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसअघि दीपकुमार उपाध्यायको ुएग्रिमोु एक महिनाभित्रै आएको थियो । तर शर्माको ुएग्रिमोु केही ढिलोगरी पठायो ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । देउवा मन्त्रिपरिषदले भारत, अमेरिका र बेलायतलाई उच्च प्राथमिकतामा राख्दै राजदूत सिफारिस गरेको थियो । रिक्त अन्य मुलुकमा भने अहिलेसम्म पदपूर्ति प्रक्रिया अघि बढाइएको छैन ।