Breaking

प्याराग्लाइडिङ गर्ने अष्ट्रियाका नागरिक पक्राउ


काठमाडौँ — अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिक पक्राउ परेका छन्। अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर बैतडीबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो ।

उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा प्याराग्लाइडिङ गर्दै आएका थिए । प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई कारबाहीका लागि नागरिक उड्डयन कार्यालय धनगढी पठाइएको छ ।