Breaking

एक लाख म्यादी प्रहरीका लागि खुल्यो भर्ना,कस्तो छ सेवा सुविधा ? (सूचनासहित)


काठमाडौँ — सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ ।

निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गर्ने सरकारको तयारी छ । प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ भर्ना खोलिएको सूचना जारी गरेको छ ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म निवेदन दिन सक्ने छन् । भर्ना हुनका लागि अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनु पर्नेछ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन् । छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

​म्यादी प्रहरीले प्रतिदिन ७५६ रुपैयाँका दरले तलव पाउँछन् ।

४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोशाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने छ ।