Breaking

साउदी र नेपालबीच जनरल कोअप्रेसन एग्रिमेन्ट


काठमाडौँ – साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किसकेका छन् । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ ।

सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका उनले आजै प्रधानमन्त्री देउवालाई समेत बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् । त्यसअघि नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक भएको थियो । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुबारे छलफल भएको हो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसलले गरेका थिए । बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए ।

नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य मध्येको एक साउदीका राजकुमार फैसलको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । सन् १९७७ मै स्थापना भएको द्विपक्षीय सम्बन्ध यो अवसरको सदुपयोग गर्दै व्यापार, पर्यटनसहितका क्षेत्रमा अझ विस्तार गरिनुपर्ने विज्ञहरूले बताँउदै आएका थिए ।

दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याएका उनीहरुले दुईदेश बीचको श्रम सम्झौतालाई अन्तिम रूप दिने विषय प्रमुख मुद्दा बनाउनुपर्ने बताएका थिए । त्यस्तै ईन्धन,पर्यटन व्यापार र लगानी अभिवृद्धीका लगायतका विषय उठाउन पनि यो उपयुक्त अवसर हुने उनीहरुको मत थियो ।

यहि सुझावकाबीच यो सम्झौताले नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने गरि सम्झौतामा हस्ताक्षर गरिएको बताईएको छ । विदेशमन्त्रीसमेत रहेका फैसल सोमबार साँझ २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आईपुगेका थिए ।

निजी विमान चढेर श्रीलङ्का हुँदै नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानीले स्वागत गरेका थिए । उनी आजै स्वदेश फिर्ता भएका छन ।