राजनीति

गठबन्धन गर्ने नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्छ: महामन्त्री शर्मा


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उनले बताए ।

नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निर्क्योल गरिने बताए । “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ”, उनले भने । स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।

काँग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग सबन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताए । चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उनले बताए ।