Breaking

गठबन्धन एकातिर हुँदा पनि एमालेको तौल नै बढी हुन्छ: ओली


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग निर्वाचन लड्न गाह्रो नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन एकातिर र एमाले एकतातिर बस्दा पनि एमालेकै तौल बढी हुने जिकिर गरे ।

“गठबन्धनसँग लड्न केही गाह्रो छैन । यी स–साना समूह हुन् । अरू एकतातिर हुँदा हामी बढी हुन्छौँ । अरू एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ,” उनले भने ।

गठबन्धन एकातिर भएकाले चुनाव लड्न गाह्रो हुन्छ भन्ने कुरासँग नतर्सिन आग्रह पनि गरे । आफ्नो सरकारले गरेका कामहरू लिएर जनतामाझ जाने उनले उल्लेख गरे ।

सत्तारूढ दल नेपाली कांग्रेससँग जनतामा लिएर जाने विषयवस्तु नभएको उनको भनाइ छ । “कांग्रेसले के लिएर जान्छ रे ? अघिल्लो सरकारको भन्डाफोर गर्ने रे ! के छ र कांग्रेससँग लिएर जान ?,” ओलीको प्रश्न छ ।

ओलीले वर्तामान सरकार फेर्नुपर्ने पनि बताए । सरकारको प्रगति विवरणमा नेपालको चुच्चे नक्सा नराखेको भन्दै उनले सरकार फेरिने बताए । “यस्तो सरकार फेर्नैपर्छ । कुनै तिकडमबाट होइन, जनादेशबाट सरकार फेरिन्छ,” उनले भने ।