पर्यटन

नमुना वडा बन्दै खुम्जुङ, जनतालाई सेवा दिन वडाध्यक्षको गज्जव उपाय


काठमाडौँ — आधुनिक समयमा आफ्नो क्षेत्रको जनताको तथ्यांक कसरी राख्नु पर्छ भन्ने उदाहरण सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ४ देख्न सकिन्छ । आफ्नो वडाका हरेक नागरिकको बैयक्तिक विवरणलाई वडाले व्यवस्थित बनाएको छ ।

आफ्नो क्षेत्रको सम्पूर्ण जनताको तथ्यहरु कसरी सुरक्षित र व्यवस्थित राख्ने भन्ने उदाहरण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाको वडा नम्बर चार लाई हेर्दा फरक नपर्ला । सानो र साँघुरो भवन भए पनि आफ्नो वडाभित्रका नागरिकको वैयक्तिक विवरणलाई चिटिक्कसंग मिलाएर राखिएको, हरेक टोलको छुट्टै छुट्टै फाइल रोलक्रम अनुसार राखिएको, एकाघरको परिवारका पनि भर्खरै जन्मीएका बच्चा देखि वृद्धसम्मको नागरिकको फोटोकपीसहित सम्पूर्ण विवरण ।

फाइलमा मात्रै होइन, प्रविधिको युगमा यी आफ्नो नागरिकको आधारभूत आवश्यकताका कागजातहरु कम्प्युटरमा पनि व्यवस्थित गरिएको छ ।

यो फाइलमा व्यक्तिको नागरिकताको फोटोकपी, फाटो, उमेर, साक्षरताको स्थिति, पेषा, सम्पर्क नम्बरसमेत सम्पूर्णरुपमा खुलाएर राखीएको छ । हिमाली तथा दुर्गम क्षेत्र भएकाले यसरी आफ्नो नागरिकको सबै विवरण राख्दा घण्टौँ लगाएर टाढादेखि सेवा लिन आउने सेवाग्राहीले कुनै कागजात छुटिहाले पनि काम नरोकियोस भन्नका लागि यसो गरिएको वडा कार्यालयको भनाई छ ।

उच्च हिमालय क्षेत्र भएकाले खुम्जुङ, खुन्दे, फोर्चे, पाङबोचे जस्ता गाउँका मानिस बाह्रैमास गाउँमा बस्दैनन् । चिसोयाममा काठमाडौँ र औलमा बस्ने गर्दछन् । यस्तो बेला पनि सेवाग्राहीको काम नरोकियोस भन्नका लागि वडाले आफ्ना हरेक नागरिकको विवरण सुरक्षित राखेको वडा सदस्य ङिमायाङजी शेर्पाले बताइन् ।

आवश्यक कागजातबारे जानकारी नहुँदा कतिपयले नागरिकता नै नबोकी वडामा आउने र सानो कारणले सेवाग्राहीले दुख पाउने स्थिति नहोस भन्नका लागि वडा कार्यालयले दुख गरेरै भएपनि नागरिकहरुको वैयक्तिक विवरण राखेको हो । फाइलहरु व्यवस्थीत भएपछि अहिले त विदेशमा बस्नेहरुले पनि सेवा पाइरहेको वडा कार्यलयको अनुभव छ । वडामा आउने नागरिकहरुले अनाहकमा सास्ती पाएको देखेपछि वडा अध्यक्ष लक्ष्मण अधिकारीले यो उपया अपनाएका थिए । अहिले वडाका जनताले दुख नपाएको देख्दा उनलाई पनि खुसी लागेको छ ।

समय र परिस्थितिसंगै सरकारी कार्यालयहरु पनि सुधारिए जनताले सहजताको महसुष गर्न सक्छन् । नेपालका अक्सर सरकारी कार्यालयहरु पुरानै तौरतरिकाबाट घिसिपिटी चलाइँदा जनताले संधै सास्ती पाइरहेका हुन् । प्रविधिमैत्री र सेवालाई सरल बनाउँदै लगे यस्तो कार्यलाई जनताले पनि स्याब्बासी दिन्छन् नै ।