विदेश

युक्रेनमाथिको हमला निरन्तर


काठमाडौँ — दुई सातादेखि युद्धरत रुस र युक्रेनबीच सोमबार चौथो चरणको वार्ता भएको छ । दुई देशका वार्ताटोलीले संवाद युद्धविराम र युक्रेनबाट रुसी सैनिक फिर्ता गर्ने तथा युक्रेनको सुरक्षा सुनिश्चिततालगायतका विषयमा केन्द्रित गरेको युक्रेनी वार्ताटोलीका सदस्य मखाइलो पोदोल्याकले बताएका छन् । यसपटकको वार्तामा मस्को रचनात्मक ढंगले प्रस्तुत भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले बताएका छन् । रुसले अघिल्लोपटक जस्तो यसपटक अल्टिमेटम दिने वा आत्मसमर्पणका लागि चेनावनी दिनेभन्दा पनि रचनात्मक ढंगले वार्ता गरिरहेको उनले बताए ।

युद्ध अन्त्यका लागि दुई मुलुकबीच वार्ता भइरहँदा रुसले भने युक्रेनको राजधानी किएभलगायतका सहरमा निरन्तर बमबारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी हमलामा परी युक्रेनका गैरसैनिकसमेत मारिएका छन् । युक्रेनी सहर परिउपोलमा रुसी सेनाले प्रसूति अस्पतालमा बम हमला गर्दा एक गर्भवती महिला र उनको बच्चाको मृत्यु भएको छ । उनी प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् ।