देश

स्थानीय तहको निर्वाचनमा आवश्यक रणनीति बनाउँदै एमाले


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो । एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ ।

‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ । अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो । बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ । एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ ।