Breaking

चुनावमा गठबन्धनबारे तीन थरी मत,प्रचण्ड–माधवको अर्काे गठबन्धन


काठमाडौँ – स्थानीय तहको निर्वाचन आउन अब मात्र दुई महिना बाँकी रहेका बेला नेपाली काँग्रेसभित्रै गठबन्धनबारे तीनथरी मत देखिएको छ । माओवादी र समाजवादी गठबन्धन गर्नेपर्ने दबाबमा छन् । तर काँग्रेस अनिर्णित हुँदा चुनावबारे चुनावी तालमेलकै विषय टुंग्याउन गठबन्धनलाई सकस परेको छ ।

नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीबाट खटिने केन्द्रीय प्रतिनिधिलाई प्रशिक्षण दिँदै गठबन्धनका दल चित्त दुख्ने गरि नबोल्न निर्देशन नै दिए । किनकि देउवा गठबन्धनका दलहरुसँग तालमेल गर्दै आगामी चुनावमा भाग लिन खोजिरहेका छन् ।

त्यसयता पनि उनी पटकपटक गठबन्धनका दललाई चिसो पस्ने गरि नबोल्न नेताहरुलाई आग्रह गरिरहेका छन् । मुलतः देउवाको चाहना छ, गठबन्धनकै बलमा चुनावमा गए बहुमत ल्याउन सकिन्छ र चुनावपछिको सरकारसमेत काँग्रेसकै हुनेछ ।

तर देउवाको चाहनाविपरित दोस्रो तहका नेताहरु उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरु काँग्रेस एक्लै चुनावमा जाने बताइरहेका छन् । ‘हात्तिका कानमा चमेराका ओत’ भन्ने व्यङ्ग गर्दै गठबन्धनमै आवद्ध माओवादी–समाजवादीलाई तर्साइरहेका छन् । र यसमा सभापतिमा देउवासँग पराजित भएका शेखर कोइराला लगायतका नेताहरुको साथ छ ।

उनीहरुको एउटै चिन्ता छ, यदि काँग्रेसीहरुले अन्य पार्टीलाई भोट हाल्ने अवस्था आए मनोबल गिर्न सक्छ । फलतः दोस्रो तहका नेताहरु एक्लै चुनावमा जाने र एक्लै बहुमत ल्याएर आउने दाबी गरिरहेका छन् । काँग्रेसभित्र तेस्रो पक्ष छ, जसले न देउवा न गगन, मझधारबाट विकल्प खोजिरहेको छ ।

स्थानीय तहको निर्वाचनका विषयमा निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिने, केन्द्रले हस्तक्षेप नगर्ने । यस विकल्पमा महामन्त्री गगनकुमार थापासमेत सहमत छन् । तर गठबन्धनलाई चुनावी समीकरणमा बदल्नै पर्ने दबाब दिइरहेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाजस्ता नेताहरुका कारण देउवा थप संकटमा छन् ।

किनकि सत्ता गठबन्धनका दलबीच समीकरण नगर्दा गठबन्धन भत्किने र वाम पार्टीहरूबीच तालमेल हुनसक्ने जोखिमलाई उनीहरुले औल्याइरहेका छन् । नेताहरुको बुझाइ अनुसार एक्लाएक्लै चुनाव लड्दा कांग्रेस पहिलो पार्टी हुनेमा कुनै शंका छैन तर कांग्रेस एक्लै लड्ने र अर्काेतिर प्रचण्ड, माधव र ओलीबीच तालमेल भए ठुलो क्षति हुने आँकलन गरिएको छ ।

तर पनि दोस्रो तहका नेताहरु माओवादी–समाजवादीलाई भोट हाल्ने पक्षमा छैनन् । यस्तो अवस्थामा प्रचण्ड–माधवले कस्तो भूमिका खेल्छन् त्यो पनि निर्णायक छ । विभाजनको मार खेपेका माओवादी–समाजवादी आगामी चुनावमा जित्न नसके अस्तित्व संकटको जोखिममा पुग्नेछन् । यसैकारण उनीहरुलाई गठबन्धन गर्नेपर्ने बाध्यता छ ।

अर्काेतर्फ पूर्वसहकर्मी एवं एमाले अध्यक्ष ओलीसँग प्रतिष्ठाको लडाइँ चलिरहेको छ । एमालेलाई देखाउनकै लागि भए पनि प्रचण्ड–माधवलाई गठबन्धन बनाउनुपर्ने बाध्यता छ । तर गठबन्धनकै दलभित्र अर्काे गठबन्धनको सम्भावना बलियो बनेर आएको छ ।

काँग्रेसले चुनावी तालमेल नगरे काँग्रेसबाहेकका अन्य तीनदलबीच तालमेल गर्दै चुनावमा जाने तयारी पनि अर्काेतर्फ चलिरहेको छ । यदि यसो भए, सरकार र प्रधानमन्त्री देउवामाथि दलहरुको विश्वासमा प्रश्न उठ्ने छ ।