Breaking

प्रचण्ड पनि प्रकाश सपूतको गीतको पक्षमा, उत्तेजित नहुन कार्यकर्तालाई आग्रह


काठमाडौँ –सामाजिक सन्जाल यतिवेला प्रकाश सपुतमय बनेको छ । माओवादीको दश वर्षे सशस्त्र जनयुद्धका लडाकुले आफ्नो पार्टी शान्तीपूर्ण राजनीतिमा आएसंगै भोगेका वास्तविकताको चित्रण गरिएको पिर बोलको गीतले धेरैलाई पिर पारेको छ । तर बढ्दो मतमतान्तरकै बीच माओवादी अध्यक्ष प्रचण्डले भने यस्ता विषयबाट उत्तेजित हुन नपर्ने बताएका छन ।

गायक प्रकाश सपुतको नयाँ गीत पीरमा देखाईको एक दृश्यले उनको गीत नै विवादको घेरामा परेको छ । आफ्ना नेता जनयुद्धको सपनाबाट च्यूत हुँदै सुख सयलको जिन्दगी जिईरहँदा कोहि लडाकु भने देह व्यापारसम्मको स्थितीमा पुगेको दृश्य भिडियोमा देखाएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको हो ।

उक्त गीतको भिडियोलाई लिएर अधिंकाशले १० वर्षे जनयुद्धका लडाकुसहित सिंगो नेपाली समुदायको यथार्थ भन्दै प्रशंसा गरिरहँदा केहि माओवादी नेताहरुले भने विरोध गरेका थिए । गीतले माओवादी जनयुद्धलाई गलत ढंगले प्रस्तुत गरेको र नारी अस्तित्व माथि औँला उठाएको भन्दै आलोचना भएको हो ।

माओवादी नेता कार्यकर्ताहरुले सामाजिक सन्जालमा आक्रोश पोखिरहेका छन् भने सपूतलाई कारबाहीको धम्की समेत दिएका छन् । सशस्त्र युद्धकै नेतृत्वकर्ता तथा हाल जसपा केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गीतको पक्षमा देखिदाँ माओवादीका केहि युवा नेताहरुले भने पीर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए सहेर नबस्ने चेतावनी दिएका छन् ।

तर गीत सर्जक प्रकाश सपुतले भने आफूले विगतमा दोहोरी साझमा काम गर्दा अधिंकाश पूर्व लडाकुहरु भेटेको तथा दृश्य केवल कल्पना मात्र नभएको उल्लेख गरेका छन् । कसैको चित्त दुखाउन नभई वास्तविकता देखाउन खोजेको सपूतको दाबी छ ।

उनले अलि धेरै कोट्याइएको देहव्यापारमा लागेको महिला लडाकुको दृष्य आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य भएको बताएका छन् । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको भए आत्मालोचना गर्ने उनले उल्लेख गरेका छन् ।

दृश्यमा देखाएईएकी पूर्व जनवादी कलाकार केशु पुन मगर स्वयं पनि यो यसअघि नै उक्त दृश्य र समग्र गीतको भिडियो नै वास्तविकताको चित्रण भएको बताएकी थिईन् भने अन्य कलाकारहरुले समेत यसलाई गलत अर्थमा नबुझ्न आग्रह गर्दै आएका थिए । सर्जक समाजको दर्पन भएकोले सिर्जनाकै आधारमा धम्की दिन नमिल्ने समेत कतिपय कलाकर्मी बताउँछन् ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् । शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद ग¥यो भन्ने पनि रहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न नमिल्ने बताए ।

तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क–वितर्क, पक्ष–विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताउँदै उनले यस विषयलाई लिएर कोही पनि उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताए ।

योसंगै म्युजिक भिडियोको विवाद विस्तारै समाधानको बाटोमा अघि बढेको छ । तर यसअघि पनि पशुपति शर्माको लुट्न सके लुट कान्छा बोलको गीतलाई लिएर पनि चौतर्फी विवाद भएको थियो । जसले स्रष्टा र सिर्जनाप्रति राज्यको वर्ग दृष्टिले सतहमा ल्याएकोे छ ।

https://www.youtube.com/watch?v=s5fN-zqXzNk

अर्थात् सर्जकको सिर्जना किन सत्ताको तारो बन्छन ? सिर्जनाले किन थर्किन्छ सत्ता ? सिर्जनामा सर्जक पक्षपाती बन्न सक्छन् ? जस्ता प्रश्नको जवाफ खोज्ने वेला आएको छ ।