काठमाडौँ – रुसले युक्रेनमाथि हमला गरेको आइतबार १८ दिन पुगेको छ । धेरै जसो संरचनाहरु ध्वस्त बनेका छन् । तर पनि युक्रेनी सेनाले हार मानेको छैन ।
यता रुसी सैनिक युक्रेनको राजधानी कब्जा गर्न अन्तिम लडाई लडिरहेको छ । युक्रेनको राजधानी किभको बाहिरी भागमा रूसी ट्याङकको लावा लस्करनै देखिएपछि अबको केही समयभित्रै रुसले राजधानी कब्जा गर्ने संकेत देखिन्छ ।
तर युक्रेनले त्यसको प्रतिवाद गर्न आफ्नो फौज तैनाथ गरेको र कतिपय स्थानमा रुसी ट्यांकमाथि आक्रमण नै गरिदिएको छ । यसले युक्रेनको राजधानी कब्जाका लागि रुसले गरेको प्रयास अब अन्तिम चरणमा प्रवेश गरेको देखिन्छ ।
रुसी सेनाले किभलाई तीन तर्फबाट घेरा हालेको छ । किभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेका छन् । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अब जुनसुकै बेला पनि लडाई किभमा प्रवेश गर्न सक्ने मात्रै होइन् रुसले युक्रेन राजधानीमाथि झण्डा गाड्न सक्ने आँकलन गरिएको छ ।
रुसले युक्रेनमाथि हमला गरेको आइतबार १८ दिन पुग्दा धेरै जसो संरचनाहरु ध्वस्त बनेर रणभुमिमा परिणत भइरहेका छन् । यसका बाबजुद पनि युक्रेनी सेनाले हार मानेको छैन । यद्दपी सबैतिर विस्फोटका आवाज मात्रै आउँदा युक्रेनी नागरिकमा डर र त्रास बढेको छ । २५ लाखभन्दा बढि युक्रेनका नागरिक युद्धबाट जोगिन छिमेकी मुलुकको शरण परेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट १३ सय युक्रेनी सेना मारिएको दाबी गरेका छन् । जसको एकिन तथ्यांक नआएपनि ठुलो संख्यामा नागरिकले ज्यान गुमाएका छन् । सबैभन्दा महत्वपूर्ण प्रश्न त रुस र युक्रेनबीचको युद्ध अन्त्य कसरी होला भन्ने हो । कसैले यसैलाई तेस्रो विश्वयुद्धको विजारोपणसमेत भनेका छन् ।


प्रतिक्रिया