Breaking

संसद् अबरुद्ध एमालेको नाटक मात्रै, महाअभियोग प्रस्तावको छलफलमा एमालेले पनि सामेल


काठमाडौँ – लगातार संसद् अवरुद्ध गर्दै आइरहेको नेकपा एमालेले अहिलेसम्म संसद्को कामकारवाहीमा खुलस्त भाग लिएको छैन । तर प्रतिनिधिसभामा पेश गरिएको प्रधानन्यायाधीस महाअभियोग प्रस्तावमा भने संसदीय प्रक्रियामा भाग लिने देखिएको छ ।

संसद् पुनस्थापना भए यता नेकपा एमालेले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएको छ । एमालेले कारवाही गरेका १४ सांसदलाई बर्खास्त नगरेसम्म संसद् चल्न नदिने एमालेको अडान कायम छ । सोही कारण एमालेले हालसम्म भएका संसदीय प्रक्रियाहरुमा अवरोध गर्दै असंलग्न छ ।

तथापी प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाको महाअभियोग प्रस्तावमा छलफल गर्न भने एमाले पनि सहभागी हुने देखिएको छ । आइतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेकपा(एमाले) संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङले महाअभियोगको प्रस्ताव समितिमा छलफलका लागि जाने र एमालेले समितिमा छलफलमा भाग लिने बताए । संसद् अवरोधको सम्बन्धमा भने पार्टी छलफलमै रहेको उनको भनाई छ ।

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले महाअभियोग सिफारिस समितिमा एमालेले सदस्य पठाएपछि छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे । उनले एमालेले संसद् अवरोध भन्ने तर सरकारका काम गर्न दिएको र एमसीसी पारित गर्न दिइएको भन्दै आश्चर्य व्यक्त गरे ।

एमालेका सांसद खगराज अधिकारीले सरकार र सभामुखले संसद् अवरोध गरिरहेको आरोप लगाएका छन् । संसद्लाई प्रभावकारी बनाउन नदिन गलत कामहरु गरिरहेको उनको टिप्पणी छ । सांसद अधिकारीले महाअभियोगको सम्बन्धमा समितिमा एमालेले छलफलमा भाग लिए पनि प्रतिनिधि सभामा भने विरोध जारी राख्ने बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव संसद्बाट पारित हुने दावी गरे ।

महाअभियोग प्रस्तावमा छलफल गर्न संसद्मा एमाले सहभागी भएपछि अब संसद् अवरोध गर्दै नाराबाजी गर्नुको कुनै तुक नहुने कतिपयको तर्क छ । यद्यपी एमालेका नेताहरुले भने प्रक्रियामा पनि भाग लिने संसद पनि अवरुद्ध गर्ने नीति अख्तियार गर्ने देखिएको छ । जुन स्वभाविक नहुनसक्छ ।