Breaking

संसद् भत्ता खाने भाँडो बन्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग पार लाग्ला ?


काठमाडौँ – संसद्माथि सत्तापक्ष र प्रतिपक्षको टकराव चर्किदा पारित हुने तयारीमा रहेका कानुनहरु रोकिएका छन् । तर दलहरुको भूमिका यसको निकास खोज्नेभन्दा झनै किचलो मच्चाउनेतर्फ केन्द्रीत बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार एक कार्यक्रममा बोल्दै गर्दा गम्भीर प्रश्न उठाउँदै भने ‘संसद्ले भत्ता खानेबाहेकको के काम गरेको छ ?’

जनादेशले जबसम्म काम गर्छ त्यसदिनसम्म संसद् चलाउने, जब काम गर्न छोड्छ ताजा जनादेशमा जाने भन्दै आफुले गरेका दुई विघटनको औचित्य पुष्टि गर्न खोजेका ओलीले अहिलेको संसद्लाई निकम्मा बनाउने काम गरेको आरोप लगाएका हुन् । तर आकाशमा ‘फर्केर थुक्दा आफैमाथि पछर्’ भन्ने हेक्का उनलाई कमै हुने गरेको छ ।

किनकि अदालतमा मुद्दा दायर गरेर यता विगत ६ महिनादेखि संसद्मा निरन्तर अवरोध गर्दै अर्थहीन बनाउने काम एमालेबाटै भएको छ । जनताका प्रतिनिधिहरुको आवाज व्यक्त गर्ने ठाँउ निरन्तर अवरोध हुँदा संसद्माथि नै अनेक प्रश्न उठेका छन् । मुलतः संसदमाथि प्रश्न उठाएरै सत्तापक्षलाई विघटनको बाटोमा पु¥याउने विन्दु एमालेले खोजिरहेको छ ।

यता संसद् चल्न नसक्नुको कारण एमालेलाई देखाएर सत्ताघटकहरु आफ्नो स्वार्थ अनुकुल प्रयोग गरिरहेका छन् । एमसीसी जस्ता विवादित मुद्दा पास गर्न सत्तागठबन्धनले दिनरात संसद चलाएको थियो । प्रतिपक्षसँग संवादमार्फत निकास खोज्न सत्तापक्षले चासो देखाएको छैन ।

चालु विधेयक अधिवेशनमा एउटा विधेयकमाथि पनि दलहरुले छलफल चलाएका छैनन् । यो अधिवेशनबाट नागरिकता विधेयक, निजामती विधेयक, प्रहरी समायोजनसँग सम्बन्धि विधेयक, यौन हिंसाविरुद्धको विधेयक र तेजाब पीडितका पक्षमा कानुन बनाउन ल्याइएका विद्येयकहरु पारित हुने सम्भावना थियो । तर एउटा पनि विधेयक पारित गर्न सत्तापक्ष र प्रतिपक्षले चासो देखाएका छैनन् ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्धको महाभियोग संसद्मा अल्झाएर राखिएको छ । आइतबारको बैठकमा पेस गरिए पनि दलहरु यसलाई टुंग्याउन भन्दा पनि लम्ब्याउनतर्फ लाग्ने मनस्थितिमा देखिएका छन् ।