Breaking

भारतमा कस्तो गज्जबको केजरीवाल शैली, नेपालमा टिकट पाउन पार्टी फेर्दै हिड्छन् नेता (भिडियोसहित)


काठमाडौँ — स्थानीय तहको निर्वाचन आउन अब मात्र ६३ दिन मात्र बाँकी छ । अबको दुई महिना तीन दिनपछि ७५३ वटै स्थानीय तहले एकैपटक नयाँ नेतृत्व पाउँदैछन् ।ठिक यसैबेला केन्द्रदेखि गाउँ तहसम्म नेताहरुकोदौडधुप मात्रै होइन पार्टी अद्लाबद्ली नै चलिरहेको छ ।

भारतको आम आद्मी पार्टीले उम्मेद्वार छनोटको जिम्मा पनि जनताकै हातमा सुम्पियो । भोटिङ भयो, जो सबैभन्दा लोकप्रिय थियो, उसैलाई चुनावका लागि उम्मेद्वार बनायो र आफैले छनोट गरेको व्यक्तिलाई अब चुनाव पनि जिताउनुस् भन्दै जनताकै जिम्मा लगाइदियो । फलतः पञ्जाबजस्तो काँग्रेसी विरासतले जमिन टेकेको गडमा २०१३ मा स्थापना भएको सामान्य आम आद्मी पार्टीका नयाँ अनुहारले विरासतधारी नेताहलाई पराजय चखाइदिए ।अहिले मोदीको विकल्प केजरीवाल बन्न सक्छन् भन्ने बहस भारत भरी चर्किएको छ ।

नेपालमा पनि अहिले स्थानीय तह निर्वाचनको सरमर्गी चढेको छ । चुनाव आउन अबमात्रै दुई महिना बाँकी छ । तर टिकट पाउनका लागि नेताहरुको घरदैलो चाहर्ने, पाउ मल्नदेखि आफु सुरक्षित हुन जस्तोसुकै सौदाबाजी गर्न पनि तयार भइदिने हर्कतहरु देखिरहेका छन् ।यी व्यक्ति हुन्, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री । गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका उनी झण्डै पाँच बर्षे कार्यकाल पुरा हुँदै गर्दा अहिले काँग्रेस प्रवेश गरेका छन् ।गाउँपालिका अध्यक्षले पार्टी प्रवेश गर्ने भएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमै बोलाएर रातो कार्पेट विछ्याएर स्वागत गरे । अब उनलाई काँग्रेसले प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ रे ।

क्षेत्रीलाई पार्टी प्रवेश गर्न न नीतिले रोक्यो न सिदान्तले । वैचारिक दृष्टिकोण नै उनका अघि मूल्यवान देखियो । बरु आगामी निर्वाचनका लागि टिकटको बाग्रेनिङ गरे, कुरा मिलेपछि काँग्रेसमै हानिएर एमालेको खेदो खन्न थाले । तथापी गाउँपालिका अध्यक्षलाईप्रधानमन्त्री तहबाटै गरिएको स्वागत हेर्न लायक देखियो ।निर्वाचनको मुखमै आएर पार्टी अद्लाबद्ली गर्ने उनीमात्रै एक्ला व्यक्ति होइनन् ।वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली शनिबार काठमाडौंबाट हानिएरै पर्सा पुगे ।सरावगीसँगै चार वडाध्यक्ष समेत एमालेमा आएपछि ओली ठुलो सफलता हात पारेको अर्थमा बुझिरहेका छन् । उसैगरि एमाले अध्यक्ष ओलीले बुधबार मोरङको रंगेली नगरपालिकाका मेयर दीलिप बगडिया र उपमेयर केशवकुमारी खराललाई समेत पार्टी प्रवेश गराएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयर र उपमयेर नै एमालेमा हानिएपछि माओवादीलाई चुकचुकी भइरहेको छ । तर त्यसको भरपाईँ गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपन्देहीको सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ सुक्लासहितका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा टिकट दिने सुरक्षासहित पार्टी प्रवेश गराएका छन् ।

रोचक त के छ भने, हामीले उल्लेख गरेका जनप्रतिनिधिको पार्टी प्रवेशलाई शिर्ष नेतृत्वले स्वागत गरेका छन् । जिल्ला वा प्रदेश तहका नेताहरुको विश्वास नगरेरै उनीहरु केन्द्रमा आएर वा बोलाएर पार्टी नेतृत्वबाटै आफुलाई सुरक्षित बनाउने काम गरेका छन् ।केन्द्रीय नेतृत्व नै राजनीतिक सौदावाजी र अद्लाबद्लीमा लागिपरेपछि तल्लो तहका नेता कार्यकर्ता समेत जो–सँग मिलेपनि सत्ता कब्जा नै अन्तिम हो भन्ने बुझाईका साथ अघि बढेका छन् ।

जनतासँग सोझो सम्पर्क हुने र जनताका प्रत्यक्ष कामकारबाहीसँग स्थानीय तहकै बढी सम्बन्ध हुन्छ । तर यहाँ नै राजनीतिक सौदाबाजी र लोभ प्रलोभनमा टिकट बाँडफाँड हुने गरेको छ । अहिले स्थानीय तहको निर्वाचनमा गठबन्धनकै दलहरुबीच चुनावी तालमेल हुन्छ कि हुँदैन भन्ने प्रश्न गम्भीर बनेको छ । तर दलहरुले नेता कार्यकर्ता अद्लाबद्ली गर्दै त्यसको भरपाईँ गरिरहेका छन् ।फलतः दलहरु विचारहिन र सिदान्तहिन बन्दै गएका छन् ।