Breaking

जसपा जुट्यो छलफलमा, नेतृत्वको टकराव लोकतान्त्रिक बहस मात्र भएको दाबी

के छ अध्यक्ष भट्टराईको राजनीतिक प्रतिवेदनमा ?


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) विगत केहि समयदेखि केन्द्रीय नेतृत्वबीचको मतभेदका कारण आन्तरिक द्धन्दको चपेटामा छ । अरु राजनीतिक दलहरु चुनाव लक्षित अभियानमा व्यस्त हुँदा पार्टीको औपचारिक बैठकसमेत बस्न नसकेको जसपा अब भने छलफलमा जुटेको छ । शनिवारबाट सुरु भएको संघिय परिषद र केन्द्रिय समितिको वैठकसँगै जसपा चुनावमा केन्द्रित हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै साना–ठुला सबै राजनीतिक दल चुनावी अभियानमा होमिएका छन । निर्वाचन आयोगको तयारीसँगै राजनीतिक वृत्तमा चुनावी सरगर्मी बढेको छ । तर केहि राजनीतिक दलहरु भने दलभित्रको आन्तरिक द्धन्द र नेतृत्वबीचको टकरावका कारण न त पार्टी विस्तार गर्न सकेका छन् न त चुनावी गतिविधिलाई निरन्तरता दिन सकेका छन् । आफुलाई वैकल्पिक शतिmको रुपमा परिचय दिने जसपा यसको एउटा उदाहरण हो ।

साना–ठुला अधिकांश राजनीतिक दल अझ प्रमुख पार्टीहरु नजिकिँदै गरेको स्थानीय तह निर्वाचनका लागि नेता तानातान र खोसा खोसमा व्यस्त छन् । स्थानीय तहमा मेयर, गाउँपालिका अध्यक्ष नै आफ्नो पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने होड नै चलिरहेको छ । तर जनता समाजवादी पार्टी जसपा भने केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको टकरावले आन्तरिक किचलोमा पसेको छ । यद्यपि नेताहरु पार्टीको विवाद समाधानउन्मुख रहेको बताउँदै आएका छन् ।

दुई अध्यक्षबीच विवाद चुलिएका कारण केन्द्रिय समिति वैठक, कार्यकारीणी वैठक समेत प्रभावित बनिरहेका अवस्थामा अब भने जसपा पनि छलफल र बहसमा जुटेको छ । शनिबारबाट संघिय परिषद र केन्द्रिय समितिको वैठक क्रमश काठमाडौको बानेश्वरमा सुरु भएको छ । कार्यक्रममा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले २३ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन । पार्टीको आन्तरिक एकता, पार्टी समायोजन, गठबन्धन सहित चुनावमा सहभागि हुने विषयलाई प्राथमिकता दिएका छन । जसपाको विवाद लोकतान्त्रिक बहस मात्र भएको कतिपय नेताको तर्क छ ।

जनता समाजवादी पार्टी एकढिक्का भएर स्थानीय तहको निर्वाचनमा होमिने नेताहरुको दावी छ । आवश्यकता अनुसार गठबन्धन सहित निर्वाचनमा जाने उनीहरु बताउँछन ।

जारी छलफल र संघिय अध्यक्ष भट्टराईको राजनीतिक प्रतिवेदनलाई अर्का अध्यक्ष उपेन्द्र यादव समूहले स्वीकार गर्ला ? जसपाभित्रको सकसलाई कसरी पार लगाउँला ? पटक पटक फुट र जुटको श्रृङखलामा फसेको जसपाले आगामी निर्वाचनमा ठुला पार्टी, मधेशमा उदाउँदै गरेको सिके राउतको जनमत पार्टी सहित मधेशमा आफ्ना प्रतिस्पर्धी र अन्य क्षेत्रमा पनि पकड बनाउन कस्तो रणनीति अबलम्बन गर्ला ? यो चासोको विषय बनेको छ ।