राजनीति

निजामती कर्मचारी निर्वाचनमा निष्पक्ष हुनुपर्छ : ओली


काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।’

राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन साथ र सहयोग पु¥याउनु पर्नेमा सुझाव दिँदै अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा रहे पनि पार्टी प्रवेशको लहर चलेको बताए ।

आगामी निर्वाचन स्वच्छ र निष्पक्षकासाथ सम्पन्न गर्ने दायित्वमा नचुक्न सल्लाह दिँदै उनले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा तलमाथि भएमा सहयोग र साथ दिने वचन दिए । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त अवस्थामा पुग्दै गरेको बताउँदै निर्वाचनका माध्यमबाटै पुनःसरकारमा आउने दाबी गरे ।