समाचार

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान


काठमाडौँ — झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। अभियान एक सातासम्म चल्ने छ।

यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने लक्ष्य छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने बताए ।

प्रदेश १ मा झापा र मोरङमा मात्र अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए ।

अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयंसेवक ६र६ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डिइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ । औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो धनराशि खर्चिंदै आएको बताए । झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको संख्यामा पनि कमी आएको छ । झापामा २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ ।

कार्यालयले औषधि सेवनलाई शतप्रतिशतमा पुर्‍याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका ६ जना रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ । झापामा २४ प्रतिशत संक्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ । हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ ।