Breaking

युद्धको सोह्रौ दिनसम्म आईपुग्दा यूक्रेनमाथि रुसको आक्रमण झन् भयानक


काठमाडौँ – युद्धको सोह्रौ दिनमा आईपुग्दा रुसले युक्रेनमाथिको हमला थप तिव्र पारेको छ । राजधानी कीवलाई आफ्नो नियन्त्रणमा लिन रुसी सेनाले दुइतिरबाट घेरा हालेका छन् । खारकीव, सुमी, मारीयुपोल, ओडेसा जस्ता शहरहरुमा रुसी सेनाले बमबारीले गरिरहेका छन भने ऐतिहासिक रंगशाला समेत ध्वस्त भएको छ ।

गत मंगलबार एक दिनका लागि युद्धविराम गरेको रुसले फेरी युक्रेनविरुद्धको आक्रमण तीव्र पार्दै लगेको छ । युद्धको १६ औं दिनमा आइपुग्दा रुसी हमलाका कारण युक्रेनको ऐतिहासिक रंगशाला ध्वस्त भएको छ भने सोहि हमलामा एक जनाको मृत्यु भएको छ । आक्रमण विमास्थलकेन्द्रित बन्दै गएको छ ।

युक्रेनको पश्चिमी क्षेत्रमा रहेको लुत्स्क विमानस्थलमा बम बिस्फोट भएको हो । जसका कारण विमानस्थलका केही संरचनाहरु ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको राजधानी शहर कीवलाई आफ्नो नियन्त्रणमा लिन दुइतिरबाट घेरा हालेको छ । रुसी फौजहरू पछिल्लो २४ घण्टामा किएभदेखि पाँच किलोमिटर नजिक पुगेको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।

उत्तरमा इरपीन र पूर्वमा ब्रोवरीमा लगातार रुसी सेनाले आक्रमण गरिरहेको छ । युक्रेनका कीव, खारकीव, सुमी, मारीयुपोल, ओडेसा जस्ता शहरहरु रुसी सेनाको बमबारीले थर्किरहेका छन् । यहिबीचमा युक्रेनबाट रुसतर्फ प्रवेश गर्न चाहने मानिसहरूलाई निकासमार्ग दिने रुसी रक्षा मन्त्रालले बताएको छ । आजबाट त्यस्तो मार्ग खुला गरिने बताईएपछि रुसले आक्रमण अझ तिव्र बनाउने आशंका गरिएको छ ।

युक्रेनको दुई फरक दिशामा रहेका सहरमा पहिलो पटक आक्रमण गरेको विवरणहरू आएपछि आशंकलाई अझ बढावा मिलेकोे छ । युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो सहरमा शक्तिशाली विस्फोटहरू भएका छन् । लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।

जारी युद्धका बीच युक्रेनका लाखौं मानिस शरणार्थीको रूपमा अन्यत्र पलायन भइसकेका छन् । यता युक्रेनको चर्नीहीव शहरमा पानीको हाहाकार भएको छ । रुसी हमलाका कारण पानीको मुहान ध्वस्त भएकाले हजारौं जनता पानी खानबाट बन्चित भएका छन् । यता अमेरिकी सहयोगमा युक्रेनले रासायनिक अथवा जैविकअस्त्र विकास गरिरहेको भन्ने रुसी दाबीप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रोश पोखेका छन् ।

एउटा भिडिओ सम्बोधनमा उनले यो आरोपले साँच्चिकै चिन्तित भएको बताएका छन । रुखले आफूले गर्ने तयारीलाई अरुलाई आरोप लगाएर खुलासा गर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन । त्यस्तै युक्रेनको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो रिपोर्टमा युक्रेनी युद्ध बन्दीहरूलाई रुसी फौजका लागि लड्न आग्रह गरिएको र दक्षिण पूर्वी र स्तभ क्षेत्रमा रुसी फौजको सङ्ख्या घटेपछि त्यस्तो प्रयत्न गरिएको दाबी गरेको छ ।

रक्षा मन्त्रालयले सैन्य अनुभव नभएकाहरूलाई पनि आफ्नो फौजमा राख्न चाहेको पनि दाबी गरिएको छ । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । यस्तै बढ्दो प्रतिबन्धको कारण रुसले पनि समस्या भोग्न थालेको छ । बहुदेशीय कम्पनीहरुले देश छाड्ने क्रम बढेको छ भने प्रतिबन्धको जबाफमा रुसले सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ ।

रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्ने बताईएको छ ।