Breaking

फुङलिङ बजारको आगलागीमा परेर १ जनाको मृत्यु


काठमाडौँ — शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको हो ।

अस्पतालका डाक्टर सोनिम लामाका अनुसार अस्पताल ल्याइ पुर्‍याउनु अघि नै लिम्बूको मृत्यु भइसकेको थियो । उनी कोप्चेको गोस लाइनस्थित रविन आङवोहाङको घरमा डेरा गरी बस्थिन । आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्ति घाइते भएका छन् ।

आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको छिमेकी संगीता केदेमको घर पूर्णरुपमा जलेको छ । आगलागीको कारण खुलेको छैन ।

दमकल, स्थानीय, सेना, प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दमकलको पानीले आगो निभाउन थालेपनि खानेपानीको पाइपहरु दमकलमा लगाएर थप पानीको व्यवस्था गरिएको थियो ।