विदेश

युक्रेनमा ६ हजार रुसी सैनिक मारिएको अमेरिकाको अनुमान


काठमाडौँ — अमेरिकी अधिकारीले युक्रेनमा करिब ६ हजार रुसी सैनिक मारिएको हुन सक्ने बताएका छन् । सीबीएस न्युजसँगको कुराकानीमा अमेरिकी अधिकारीले युक्रेनमा ५ देखि ६ हजारसम्म रुसी सैनिक मारिएको हुन सक्ने बताएका हुन् ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता १५ देखि १८ हजार रुसी सैनिक घाइते भएको हुन सक्ने अमेरिकी अधिकारीले बताएका छन् । आफ्नो नाम नबताउने शर्तमा ती अमेरिकी अधिकारीले यस्तो जानकारी दिएका हुन्। रुसले फेब्रुअरी २४ देखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ ।

युक्रेनले भने १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । गत साता रुसले भने ५ सयभन्दा कम रुसी सैनिक युद्धको क्रममा मारिएको बताएको थियो । युद्धको क्रममा दुवै पक्षले गर्ने यस किसिमका दाबी आधिकारिकरुपमा पुष्टि गर्नु कठिन हुन्छ ।