समाचार

सिद्धबाबाविरुद्धको बलात्कारको मुद्दा : आज सुनुवाइ हुँदै


काठमाडौँ — धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले (आज) बुधबार सुनुवाइ गर्ने भएको छ ।

अदालतले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । उच्च अदालतमा २०७७ साल चैत २६ गते सिद्धबाबा विरुद्ध मुद्दा परेको थियो ।

सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् ।