अर्थनीति

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा


काठमाडौँ – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताउनु भएको छ ।

पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै बस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उहाँको भनाई छ ।

उहाँले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्य समेत पूरा नहुने बताउनुभयो ।

त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गर्नुभयो । उहाँले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताउनुभयो ।