मनोरञ्जन

बयानका लागि पललाई गैँडाकोट लगियो


काठमाडौँ – १७ वर्षीया नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका मोडल तथा नायक पल शाहलाई बयानका लागि गैँडाकोट लगिएको छ । मंगलबार शाहलाई प्रहरीको रहोवरमा तनहुँबाट गैँडाकोट लगिएको हो ।

गायिकाले शाहलाई तनहुँ र गैँडाकोटमा बलात्कार गरेको उजुरी दिएकि थिइन् । उजुरी परेकै कारण उनलाई गैँडाकोट लगिएको हो । उनलाई एकरदुई दिन गैँडाकोटमा राखिनेछ ।

पलको मुद्दा प्रक्रिया भने तनहुँबाट अगाडि बढिरहेको छ । बयानपछि मिसिलसँगै उनलाई फेरि तनहुँमै पठाइनेछ । पलविरुद्ध पहिलोपटक सात र दोस्रोपटक १२ दिनको म्याद थप भएको छ ।

नाबालिग गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा पलले आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । त्यसअघि उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।