खेलकुद

श्रीलङ्काका लागि नेपालले दियो एक सय ९७ रनको लक्ष्य


काठमाडौँ – दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले श्रीलङ्का नेभीलाई एक सय ९७ रनको लक्ष्य दिएको छ । कोलम्बोमा आज पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८/८ तथा कुशल भुर्तेलले तीन रन बनाए ।

विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १/१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे ।

हिजो सोमवार भएको खेलमा श्रीलङ्का नेभीलाई एक सय तीन रनमा अलआउट गर्दै नेपाल एक सय ११ रनले विजयी भएको थियो ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ ।