Breaking

नारी दिवस : वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालमा के भयो प्रगति ?


काठमाडौँ– संसारका अन्य देशमा झैँ नेपालले पनि प्रत्येक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै आएको छ । तर बिडम्वना, नेपाली महिलाले समान लैङ्गिक अधिकारको अनुभूति गर्न पाएका छैनन् । जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने नेपाली महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको पनि छ ।


वर्तमान संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान व्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ । यसका लागि सरकारका सरोकारवाला संयन्त्रबाहेक विभिन्न गैरसरकारी संघसंस्था, नागरिक समाज, निजी क्षेत्र तथा दाता पक्ष समेत प्रत्यक्ष, अप्रत्यक्ष रूपमा संलग्न भएको देखिन्छ । तर बिडम्वना नै मान्नु पर्छ, आजको समयसम्म पनि नेपाली महिला परिवार, समाज तथा राष्ट्रकै दृष्टिमा पनि दोस्रो दर्जाको नागरिकका रूपमा बाँच्न बाध्य छन् ।


नेपाली महिला लैङ्गिक विभेदका शिकार हुने गरेका दुःखदायी श्रृङ्खला दिनानुदिन थपिन्छन् । यी घटनाक्रमले मार्च ८ का दिन काठमाडौँ लगायतका शहरमा मनाइँदै आएको यस दिवसले हाम्रो देशका समग्र महिलाले स–सम्मान बाँच्न पाउने अधिकारको उपभोग गर्न पाएको प्रत्याभूति गर्न कदापी सकिँदैन । महिलाले यो दिवसलाई परम्परागत रुपमा मनाउँदै आएका छन् । यो वर्ष पनि यो दिन विभिन्न नाराका साथ त्यसरी नै मनाउँदैछन् । तर सरसर्ती हेर्दा महिलाले समानताको लडाइँ शुरु गरेको एक शताब्दीभन्दा बढी भइसकेको अवस्थामा समेत महिलाविरुद्धको शोषण, असमानता, विभेद, एक्काइसौँ शताब्दीमा पनि अन्त्य भइसकेको छैन ।

त्यसमा पनि हाम्रो जस्तो पुरुषप्रधान देशमा त अझै कतै धर्मसंस्कृति, कतै परम्परा र प्रचलन, कतै भेदभावपूर्ण नियम कानुन आदिले महिलामाथि विभेद र शोषण जारी राखेका छन् । धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा महिला र पुरुषबीच ठूलो खाडल छ । हाम्रो जस्तो विकासशील देशहरूको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड महिला नै हुन् तर स्रोत र साधनमा यिनै महिलाहरूको अत्यन्त न्यून पहुँच रहने गर्छ । आदिम कालबाट विकसित गरेर आजको यस अवस्थामा पु¥याउने प्रमुख भूमिकामा नारी नै थिए । त्यस समयमा पुरुष जङ्गलमा शिकार खोज्ने काम गर्दथे भने नारी वास बस्ने ठाउँमा कन्दमूल सञ्चय गर्ने, फलपूल खोज्ने र जङ्गली अन्नका बाला चँडेर ल्याएर वासस्थानको वरिपरि उमार्ने काम नारीले नै गरे ।


इतिहासदेखि नै नौलो कुराको आविष्कार र समग्र मानवजातिलाई समाजीकरणमा ल्याउने र समाजमा स्थायित्व ल्याउने काम नारीले नै गरे । त्यसैले होला तत्कालीन आदिम समाजमा महिलाको स्थान उच्च थियो । यिनै महिलाका हक अधिकार क्रमशः खोसिँदै गए र विस्तारै दोस्रो दर्जाको नागरिक बनाउन थालियो । दिनहुँजसो हाम्रो समाजमा बालिका र महिलामाथि हुने गरेका यौन दुव्र्यवहार, बलात्कार, बेचविखन, बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, बोक्सीको आरोपमा महिलामाथि हुने हिंसा र हत्याका घटनाको रोकथाम र नियन्त्रण पनि प्रभावकारी बन्न सकेका देखिँदैनन् ।


जुन समाजमा महिला हिंसा र कुरीतिको शिकार भइरहन्छन् त्यो समाजले प्रगतिको सपना देख्नु व्यर्थ छ । मीठामीठा भाषण, नारा र ठूला होटलको मिष्ठान्न भोजन गरेर समाप्त हुने दिवसले वास्तविक शोषित, पीडित हिमाल, पहाड, तराइँका आम महिलाका आधारभूत सवालमा के ग¥यो, प्रश्न गम्भीर छ । तसर्थ, हामी प्रत्येक महिला वर्गले पनि यस धर्तीमा स–सम्मान बाँच्न पाउनु पर्दछ, पुरुष सरहका अवसर उपभोग गर्न पाउनु पर्छ तब मात्र अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको सार्थकता हुन्छ ।