देश

एमसीसीविरुद्धको आन्दोलनमा घाइते रणबहादुर डाँगीको उपचारमा आर्थिक अभाव


काठमाडौँ —एमसीसी सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ । फाल्गुन १६ गते प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सख्त घाइते भएका ३८ वर्षीया होटल व्यवसायी डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो ।

ढुंगा प्रहारबाट टाउको, दाँत, नाक र आँखामा चोटग्रस्त डाँगीको वीरेन्द्रनगरको देउती अस्पतालमा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको थियो । प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेपनि त्यहाँ पनि उपचार हुन नसकेपछि हाल उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचार भइरहेको पत्नी तुल्सा डाँगीले जानकारी दिइन् ।

पत्नी तुल्साका अनुसार १७ गते साँझ उनको टाउकोको शल्यक्रिया गरिएको थियो । यो शल्यक्रियापछि खप्पर, पिनास नली र गिदीको बाहिरी जालीको शल्यक्रिया गर्दा १० लाख खर्च भइसकेको तुल्साले बताइन । चिकित्सकहरूका अनुसार महिना दिनसम्म अस्पतालमै बसेरै उपचार गर्नु पर्ने भएकाले थप उपचारमा लाग्ने खर्च रकम जुटाउन समस्या भएको तुल्साले बताइन् । वीरेन्द्रनगरको बीच बजारमा भाडामा होटेल व्यवसाय संचालन गर्दै आएका डाङ्गीको उपचारका लागि हालसम्म राज्य तथा अन्य कुनैपनि निकायको सहयोग नपाएको तुल्साको गुनासो छ । यस बिषमा राज्यको ध्यान जान जरुरी छ ।