देश

महिलाको हत्या गरेको आरोपमा युवक पक्राउ


काठमाडौँ — धरानको बुद्धचोकस्थित एक होटलमा महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । धरान १८ बुद्धचोकस्थित एक होटलको १०९ नम्बरको कोठामा ३९ वर्षकी सुमित्रा तामाङ मृत फेला परेकी थिइन् ।उनको हत्या भएको आशंकामा प्रहरीले हत्यामा संलग्नलाई खोजि गरेको थियो । तामाङ मृत फेला परेको पाँच दिनपछि उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका ६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले महिला हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए । दिनेशलाई प्रहरीले छगर जोरपाटी गाउँपालिकास्थित उनको ससुराली घरबाट पक्राउ गरेको हो । दिनेश केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गर्थे । त्यसबेला तामाङसँग भेट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय दिनेश डोजरको सहचालक थिए । उनी भोजपुर बस्न थालेका थिए । यसबीचमा दिनेश र सुमित्राको सम्बन्धमा खटपट आएको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका दिनेशलाई धरान ल्याइँदैछ । आज पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत बताउने तयारीमा प्रहरी छ । गत मंगलबार धरानको एक होटलमा पाँचथर मिक्लाजुङ १ की ३९ वर्षीया तामाङ मृत फेला परेकी थिइन् ।