Breaking

मुस्ताङमा हिमपहिरोमा परेर मरे १५ चौरी


काठमाडौँ — मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन् ।

छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् ।

शनिबार बिहानको हिमपहिरोमा परेर अझै १० वटा चौरी हराएका कृषक गौचनले बताए । ‘चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो। हिउँले पुरिएर चौरी मरेका हुन्,’ उनले भने। चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए ।

बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए। प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका थिए । हिउँदमा चिसो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो ।

मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ । गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो ।

मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए। नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए ।