Breaking

खल्बलिएको कुटनीतिक क्षेत्र, नेपाल–चीन सम्बन्ध संकट उन्मूख



काठमाडौँ – एमसीसीका कारण तरंगित बनेको कुटनीतिक क्षेत्र चीन–अमेरिका र नेपाल मामिलालाई लिएर सशंकित छ । अमरिकासँगै पश्चिमा शक्तिहरुको अस्वभाविक सक्रियताले उत्तरी छिमेक चीन र नेपालबीचको सम्बन्धबारे थप चासो बढेको छ । संवेदनशील कुटनीतिक क्षेत्र सरकारी उदासिनताका कारण भू–रणनीतिक चपेटामा पर्ने भय पैदा भएको छ ।

राजनीतिक दल र शीर्ष नेतृत्वको आन्तरिक किचलोमा अल्झिएको मुलुकको राजनीति एमसीसी सम्झौताल अस्तव्यस्त बन्यो । एमसीसीको तरंग कति लामो समयसम्म रहन्छ अनुमान गर्न कठिन छ तर कम्प्याक्ट सदनबाट पारित भएसँगै तत्काललाई विवाद मत्थर भएको छ । तर पश्चिमा मुलुकहरुको सक्रियता भने कायम छ ।

एमसीसी पास गराउन दैनिकी जसो कुनै न कुनै भेटमा सक्रिय नेपालस्थित अमेरिकी दूतावासले विहिबार आफ्नो नेतृत्वमा युक्रेनमा जारी अनैतिक आक्रमणको विरोध गर्दै बौद्धनाथ स्तूपमा दिप प्रज्वलन गरे । अमेरिका,जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र फिनल्याण्डका राजदूत सहित जापान, दक्षिण कोरिया, इजरायलका राजदुत, अन्तर्राष्ट्रिय श्रम संगठन, अवैतनिक महावाणिज्य दूतहरूले युक्रेनका जनता,सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति आआफ्नो समर्थन जाहेर गर्दै द्वीप प्रज्वलन गरे ।

बौद्ध धर्मवलम्बिहरुको आस्थाको केन्द्र विश्व सम्पदा क्षेत्र बौद्धनाथमा भेला भएर युक्रेनमा शान्तिको कामना गर्नु राम्रो काम हो । तर राजनीतिक तथा कुटनीतिक दृष्टिकोणबाट यो विषय गहन पनि छ ।

छिमेकी मुलुक चीन विपक्षीमा र भारत तटस्थ रहँदा युक्रेनको पक्षमा उभिएको नेपालबाट रुसलाई दवाव दिइएको अर्थमा पनि यसलाई हेर्न सकिन्छ ।

देउवा सरकार अमेरिकातिर ढल्किएको आरोप लागि रहँदा प्रतिक्रियात्मक कुटनीतिमा उत्रिएको चीन थप चिढिने त होइन भय पैदा भएको छ । कुनै एक–दुई घटनाले नेपाल–चीन सम्बन्धमा फरक नपर्न सक्छ तर नेतृत्वले चिन्तन भने गर्नुपर्ने कतिपयको बुझाई छ ।

चीन मात्र नभई छिमेकीहरुसँगको सम्बन्धका सवालमा नेतृत्व प्रष्ट हुनुपर्ने पूर्व परराष्ट्र मन्त्री समेत रहेका चीनका लागि पूर्व राजदुत महेन्द्र बहादुर पाण्डेको तर्क छ । देउवाले सरकार गठन लगत्तै चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति नै गठन गरे । तर चीनले कोरोनाको वाहानमा अघोषित नाकावन्दी गरेको सरकारले पत्तै पाएको छैन ।

प्रमुख प्रतिपक्ष टुलुटुलु हेर्न शिवाय केहि गर्न सकेको छैन । शक्ति राष्ट्र अमेरिका र चीनको बढ्दो चासो अनि नजिकको छिमेकी भारतको हेपाहा प्रवृत्तिले कूटनीतिक क्षेत्र कति अस्तव्यस्त छ प्रष्ट हुन्छ । भू–राजनीतिक संवेदनशीलताप्रति नेतृत्वको ध्यानकर्षण हुन सकेको छैन । फलत नेपालको कुटनीतिक क्षेत्र संकट उन्मूख छ ।

कूटनीतिक क्षेत्रलाई मर्यादित नबनाउँदा र राजनीतिकरण हावी हुँदा छिमेकसँग सम्बन्ध सन्तुलित हुन सकेको छैन । तर मुलुकको राष्ट्र हितलाई केन्द्रमा राखेर मित्रराष्ट्रहरुसँगको शतिm सन्तुलन बारे सरकारले बेलैमा सोच्न जरुरी छ ।