प्रदेश–१

प्रचण्ड समाप्त हुने दाबी ज्योतिषलाई चिना देखाउन ओलीको सुझाव


काठमाडौँ – पुर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र समाप्त हुने दाबी गरेका छन् । माओवादी पार्टी आफै सिद्धिने उनको भनाइ छ । झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपश्चात बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० मा देखिने टिप्पणी गरे ।

जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी समेत गरेका छन् । ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत । पक्की घरमा सुत, कच्ची घरमा सुत । छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ । मैले यो कुरा २०५६ सालमै भनेको थिएँ, दस वर्ष उग्रपन्थ माथि चढ्छ । दस वर्षपछि ओरालो लाग्छ । दस वर्षमा लगभग सिद्धिन्छ ।’

२०५२ सालदेखि २०६२ सालसम्म माओवादी उकालो लागेको उल्लेख गर्दै उनले भने, ०५२ बाट ०६२ सम्म उकालो लागेको तपाईंहरुलाई थाहा छ । त्यसपछि ओरोलो लाग्न सुरु भयो । ७२ मा आइपुग्दा लगभग सिद्धियो । ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो । बेलुनमा पम्प हालेर राख्दा विस्तारै विस्तारै सकिन्छ । अब म माओवादीलाई पम्प किन हाल्छु उनले पार्टी समाप्त हुँदै गएको देखेका पुष्पकमल दाहालले माओवादी सिध्याउन एमाले लागेको आरोप लगाउन थालेको बताए ।

‘एमसीसी गलत छ तर, भोट हाले । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक छ भनेर भन्न सकेका छैनन् । एमसीसी गलतै छ तर, एमालेले हामीलाई सिध्याउने भयो त्यस कारण राष्ट्रघाती काम गरे भन्छन् प्रचण्ड,’ ओलीले भने,‘सिध्याउने त बाबा तिम्रो चिनामा लेख्या छ, म के भनूँ ? पत्यार नलागे ज्योतिषलाई चिना देखाउन दाहाललाई ओलीको सुझाव छ । ओलीले माधवकुमार नेपालको पार्टी ‘चिचिला’ मै समाप्त हुने आरोप लगाए । ‘माधववाला त पार्टी बनेकै छैन । त्यो बन्दै बन्दैन, नबनिकन समाप्त भएर जान्छ,’ उनले भने ।